कांग्रेसले नेता तथा कार्यकर्तालाई स्पष्टीकरण सोध्ने
Tuesday, May 31st, 2022, 7:11 pm
Kalpristha
नेपाली कांग्रेस बाँकेले असहयोग गर्ने नेता तथा कार्यकर्तालाई स्पष्टीकरण सोध्न सिफारिस गरेको छ । नेपाली कांग्रेस बाँकेको जिल्ला अनुशासन शाखाले निर्वाचनमा उम्मेदवारलाई असहयोग गर्ने तीन दर्जन नेता तथा कार्यकर्तालाई स्पष्टीकरण सोध्न जिल्ला कार्यसमितिलाई सिफारिस गरेको हो ।
वैशाख ३० गते भएको पालिका निर्वाचनमा पार्टीका उम्मेदवारलाई केही नेता तथा कार्यकर्ताले असहयोग गरेको अनुशासन शाखाको ठहर छ ।
जिल्ला अनुशासन शाखाका संयोजक टंकप्रसाद काफ्ले (आशिष) को अध्यक्षतामा मंगलबार बसेको बैठकले तल्ला कमिटीबाट आएका सिफारिसलाई अनुमोदन गर्दै जिल्ला कार्यसमितिलाई पठाएको छ । अब जिल्ला कार्यसमितिले उनीहरुलाई स्पष्टीकरण सोध्नेछ ।
स्पष्टीकरण चित्त नबुझे कारबाहीका लागि प्रदेश समितिलाई सिफारिस गर्ने कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले बताएका छन् ।
पालिकाको चुनावमा काँग्रेसका आधिकारिक उम्मेदवारहरुलाई असहयोग गरेपछि तल्ला कमिटीले ती नेता तथा कार्यकर्ताहरुको नाम लिस्टिङ गरेर अनुशासन शाखामा पठाएको थियो ।
पालिकाको चुनावमा असहयोग गर्नेमा सबैभन्दा धेरै जानकी, नरैनापुर र नेपालगन्जका नेता तथा कार्यकर्ताहरु रहेको संयोजक काफ्लेले बताए ।