राजनीति गर्नेलाई छुट दिइनेछैन : विष्ट
Tuesday, May 31st, 2022, 8:09 pm
Kalpristha
नेपालगन्ज उप–महानगरपालिकाका प्रमुख प्रशान्त विष्टले उप–महानगरपालिकाभित्र जनप्रतिनिधी र कर्मचारीलाई राजनीति गर्न छुट नदिने बताएका छन् ।
नव निर्वाचित कार्यपालिका सदस्यहरुलाई मंगलबार सपथग्रहण गराउँदै नगर प्रमुख विष्टले राजनीति गर्ने चाहना भए सरकारी सेवाबाट अलग रहन कर्मचारीहरुलाई सचेत गराएका हुन् ।
नगर प्रमुख र उपप्रमुख समान भएको भन्दै कार्यपालिका सदस्यहरुलाई बैठकमा दलीय प्रभावबाट मुक्त रहन विष्टले आग्रह गरे ।
नेपालगन्ज बनाउन जनताले विश्वास गरेको भन्दै विष्टले जनताले मतदान गरेर गरेको सहयोगलाई असल काम गरेमा मात्रै ऋण तिर्न सकिने बताए ।
उपप्रमुख कमरुद्दीन राईले पार्टीगत प्रतिष्पर्धाबाट निर्वाचित भएको भए पनि अबका दिनमा सबैजना मिलेर नमूना र सुन्दर शहर बनाउन लाग्नुपर्नेमा जोड दिए । उनले कार्यपालिकाले नगरको वृहत्तर हितमा निर्णय गर्ने बताए ।
प्रमुख प्रशासकीय अधिकृत जगतबहादुर बस्नेतलगायत कर्मचारी र जन निर्वाचित पदाधिकारीहरुको सहभागिता रहेको कार्यक्रममा कार्यपालिका सदस्यहरु वशन्त कनौजिया, बिक्रम चिडिमार, विना थापा, शोभा खटिक, संगीता रेग्मी, अमृता कुमारी सिंह, कुमारी पुष्पा सिंह र मोहम्मद मुजम्मिल हुसेन हल्वाईले सपथग्रहण गरेका हुन् ।