दाङमा होटल, व्यवसाय खुल्ने समय बढाइयो
Tuesday, May 31st, 2022, 8:34 pm
Kalpristha
दाङमा होटल तगा व्यवसाय खुल्ने समय बढाइएको छ । यसअघि बेलुकी ९ बजेसम्म खुल्दै आएका बजार व्यवसाय अब राति १० बजेसम्म खुल्न पाउने भएका हुन् ।
दाङ जिल्ला उद्योग वाणिज्य संघको पहलमा स्थानीय प्रशासन, जिल्ला प्रहरी कार्यालय, स्थानीय सरकारसँगको समन्वयमा अब राति १० बजेसम्म निर्वाध रुपमा व्यापार व्यवसाय संचालन गर्न दिने सहमति भएको हो । मंगलबारबाटै उक्त सहमति लागू भएको छ ।
यसअघि जिल्लाको शान्ति सुरक्षाको कारण देखाउँदै प्रहरीले संसाँझै बजारमा होटल, व्यवसाय बन्द गराउने गरेको थियो । कोरोना महामारीका कारण व्यवसाय संचालनको समय अझै छोट्याईको थियो । स्थानीय निर्वाचन सम्पन्न भएको तथा बजारले बिस्तारै लय समात्ने अवस्था बन्दै गएकाले सरकारले जारी गरेको मापदण्डमा रही सबैसँगको समन्वयमा राति १० बजेसम्मै होटल व्यवसाय संचालन गर्न दिने सहमति भएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए ।
यसअघि जिल्लाको समग्र परिस्थितीलाई लिएर होटल व्यवसाय संचालनको समय राति घटाइएको थियो ।
व्यवसायीहरुले राति कम्तिमा १० बजेसम्म होटल व्यवसाय संचालन गर्न पाउनु पर्ने माग गर्दै संघले ध्यानाकर्षण गराउने काम गर्दै आएको थियो । तर, यो विषयमा स्थानीय प्रशासन र प्रहरी कार्यालय सकारात्मक बन्न सकेका थिएनन् ।
यता, स्थानीय प्रशासनले मंगलबारदेखि होटल व्यवसाय संचालन गर्न १ घण्टा समय थपेकोमा व्यवसायी उत्साहित भएका छन् ।
लामो समयसम्म संसाँझै होटल व्यवसाय बन्द गर्नुपर्दा मारमा परेको गुनासो गरेका व्यवसायीले राति १० बजेसम्म व्यवापार गर्न पाउने भएपछि धेरै राहत मिलेको उनीहरुको भनाइ छ ।
दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकीले पनि स्थानीय प्रशासन, प्रहरी कार्यालय र स्थानीय सरकार बीच पटक–पटक गरिएको छलफलपश्चात व्यवसाय संचालनको समय थप भएको बताए । उनले व्यवसायीहरुलाई राति १० बजेसम्म नियमसंगत व्यवसाय संचालन गर्न सचेत गराए ।