जसपाका कारण कार्यपालिकामा गठबन्धन हुन सकेनः बाल्मिकी
Wednesday, June 1st, 2022, 7:09 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १८ जेठ
नेपाली कांग्रेसका केन्द्रीय सदस्य मैकुलाल बाल्मिकीले बाँकेका केही स्थानीय तहको कार्यपालिका सदस्य निर्वाचनमा जनता समाजवादी पार्टी(जसपा) का कारण गठबन्धन हुन नसकेको बताएका छन् ।
कार्यपालिका सदस्य निर्वाचनका लागि जसपाले डुडुवा र जानकी गाउँपालिकामा कांगे्रससँग गठबन्धन गर्न नचाहेको, तर कांग्रेसले सबै ठाउँमा प्याकेजमै गठबन्धन गरौं भन्दा उसले नमानेपछि नेपालगन्ज उप–महानगरपालिकामा सहकार्य तोडिएको उनले प्रष्ट्याए ।
मंगलबार पत्रकारहरुसँग कुराकानी गर्दै वाल्मिकीले भने, ‘कार्यपालिका सदस्य निर्वाचनका लागि गठबन्धनको बैठकमै जसपाका जिल्ला अध्यक्ष कमरुद्दीन राईले डुडुवाका हाम्रा कार्यकर्ताले मान्दैनन्, डुडुवा बाहेक अरु ठाउँमा गठबन्धन गरौं भनेर भन्नुभयो । हामीले यदी डुडुवामा तपाईहरु गर्न चाहनु हँुदैन भने नेपालगन्जमा पनि हामी गर्न सक्दैनौं भनेर भन्यौं र गठबन्धनभित्र रहेका अरु चारदल बीचको सहमती अनुुसार राप्रपासँग नेपालगन्जमा गठबन्धन गरिएको हो ।’
कार्यपालिका सदस्य निर्वाचनमा कांग्रेसले जसपासँग गठबन्धन गर्ने भए सबै ठाउँमा गर्ने, एउटा ठाउँमा गठबन्धन नभए कुनै पनि ठाउँमा नगर्ने मापदण्ड बनाएको उनले स्मरण गराए । जसपाले डुडुवा र जानकीमा गठबन्धन गर्न नचाहने, तर नेपालगन्ज, नरैनापुर र जिल्ला समन्वय समितिका लागि कांग्रेस समक्ष आफ्नो माग राख्ने गरेको केन्द्रीय सदस्य बाल्मिकीले बताए ।
‘वास्तविक कुरा यही हो, गठबन्धन नेपाली कांग्रेसले तोडेको भनेर केही साथीहरुले चोक चौराहामा भनिरहेका छन्, म भन्छु जसपाले गठबन्धनमा इच्छा नगरेको हुनाले हामीले बाध्य भएर राप्रपासँग गठबन्धन गरेका हौं ।’
डुडुवामा जसपाले एमालेसँग गठबन्धन गर्दा कांग्रेसका उम्मेदवारहरु कार्यपालिका सदस्य पदमा पराजित हुनु परेकोे, जानकी गाउँपालिकामा जसपाले एमालेसँग गठबन्धन गरे पनि कांग्रेस र माओवादीबीच बनेको गठबन्धनका सबै उम्मेदवार निर्वाचित भएको उनले सुनाए । बाल्मिकी भन्छन्, ‘नेपालगन्जमा कांग्रेस, राप्रपा र माओवादीको मत संख्या जोड्दा हाम्रो बढी नै थियो, तर यहाँ गठबन्धनभित्रै कांग्रेसका साथीहरुले ह्वीप नमान्दा हामीले ठूलो नोक्सानी झेल्यौं ।’
पार्टीको ह्वीप नमान्नेलाई अनुशासनको कारबाही गर्नुपर्ने केन्द्रीय सदस्य बाल्मिकीले बताए । गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचनमा नेपालगन्ज उप–महानगरपालिकाको नगर प्रमुख र उपप्रमुख पदमा भने कांग्रेस, जसपा, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी र राष्ट्रिय जनमोर्चाबीच गठबन्धन बनेको थियो ।