परिवारले बुझेँ हरिजनको शव
Wednesday, June 1st, 2022, 9:18 pm
Kalpristha
रोल्पा कारागारमा मृत भेटिएका नेपालगन्जका सुन्दर हरिजनको शव परिवारले बुझेका छन् । घटनाबारे छानबिन गर्न गठित समितिले कारागार विभागलाई प्रतिवेदन बुझाएको पर्सीपल्ट बुधबार परिवारजनले शव बुझेका हुन् ।
रोल्पा कारागारमा मृत अवस्थामा भेटिएका नेपालगन्ज उप–महानगरपालिका–२, दैलेखी बंगलाका २० वर्षीय मृतक सुन्दर हरिजनले कारागार प्रशासनको व्यवस्थापकीय कमजोरीका कारण अर्कैको सजाय काट्दै आएको छानविन समितिले जनाएको छ । हरिजनको मृत्युपछि गठित छानविन समितिको अध्ययन प्रतिवेदनमा कारागारको व्यवस्थापन कमजोर रहेका कारण हरिजनले अर्कैका नाममा सजाय काटिरहेको उल्लेख गरिएको छ ।
त्यस्तै पाँच सदस्यीय समितिले गृह मन्त्रालयलाई बुझाएको प्रतिवेदनमा मृत्यु र अर्कैको सजाय भुक्तान गरिरहेको घटनामा कर्मचारीको भने संलग्नता नभेटिएको उल्लेख गरिएको छ । सुन्दर हरिजनको मृत्यु र अर्कैको
सजाय काट्न जेल बसेको घटनामा अहिलेसम्म उनीहरूको आपसी मिलेमतो मात्र देखिएको छानबिन समितिले जनाएको छ ।
कारागार विभागका निर्देशक झरेन्द्रप्रसाद चापागाइँ नेतृत्वको समितिले सोमबार प्रतिवेदन बुझाएपछि थियो ।
सुर्खेत जिल्लाको बराहताल गाउँपालिका–१ का २७ वर्षीय विजयविक्रम शाहको नामबाट कैद भुक्तान गरिरहेका हरिजनको रोल्पा कारागारमा जेठ ४ गते बुलेकी पौने सात बजे कारागारको शौचालयमा झुन्डिएको अवस्थामा रहेका थिए । सो घटना बाहिर आएपछि कारागार प्रशासन भित्रको लापरबाही पनि बाहिर आएको थियो ।
हरिजनको घटना छानविन गर्न कारागार व्यवस्थापन विभागले निर्देशक झरेन्द्र चापागाईंको संयोजकत्वमा पाँच सदस्य छानबिन समिति गठन गरेको थियो । समितिले नेपालगन्ज र रोल्पा पुगेर आवश्यक अनुसन्धान तथा छानविन गरेको थियो ।
त्यस्तै हरिजन मृत्यु प्रकरण छानविन गर्न सरकारद्वारा पनि समिति गठन गरिएको छ । हरिजनले आत्महत्या गरेको घटनाबारे स्थलगत रूपमा बुझेर सत्यतथ्य पत्ता लगाउन सरकारले समिति गठन गरेको हो ।
गृह मन्त्रालयका सहसचिव सूर्यप्रसाद सेढाइको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन भएको छ ।जसमा समितिमा मन्त्रालयका उपसचिव झंकनाथ ढकाल, नेपाल प्रहरीका उपरीक्षक भुपेन्द्र खत्री, राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक विश्वमणि आचार्य र जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत सदस्य रहेका छन्।
समितिलाई एक साताभित्र घटनाबारे प्रतिवेदन दिन मन्त्रालयले निर्देशन दिएको छ ।