बाँके कांग्रेसमा सुरु भयो गुटको लडाई
Thursday, June 2nd, 2022, 12:21 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १९ जेठ
बाँके कांग्रेसमा गुटको लडाई सुरु भएको छ । बुधबार पार्टी कार्यालयमा एक पक्षले ताला लगाउने र अर्को पक्षले ताला खोल्नमा मितिनेत गरेको थियो ।
संस्थापक्षका असन्तुष्ट समुहले नेपाली कांग्रेस बाँकेका पार्टी सभापति नारायण प्रसाद गौडेलले गरेको निर्णय प्रति असन्तुष्टि जनाउँदैं पार्टी कार्यालयमा तालाबन्दी गरेको छ ।
सभापति गौडेलले जिल्ला कार्यसमितिको गणपुरक संख्या बिनै कोषाध्यक्ष लगायत विभिन्न समितिहरु गठन गरेको आरोप लगाउँदै आएको छ । नियम विपरित गरिएका निर्णय खारेज गर्ने माग सहित तालाबन्दी गर्नु परेको असन्तुष्ट पक्षले बताएको छ ।
जिल्ला सदस्यहरु नियुक्ती, कोषाध्यक्ष, कार्यसम्पादन समिति र जिल्ला संसदिय समिति गठन गर्दा विधान विपरित गरेको असन्तुष्ट पक्षको भनाई छ ।
नेपाली कांग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधि एवम् संविधान सभा सदस्य बादशाह कुर्मीले सभापति गौडेलले एकपक्षिय ढंगले पार्टीको विधानलाई मिचेर कार्य गरेका कारण बाध्य भएर तालाबन्दी गर्नु परेको बताए । उनले भने,‘स्थानीय तहको निर्वाचन अघि नै यसको हामीले बिरोध गरेका थियौं । तर निर्वाचन नजिकै आएकोले त्यसमा असर गर्ने भएकोले बिरोध कार्यक्रमलाई स्थगित गरेका थियौं । उहाँले त्यो अवधिमा यसलाई सच्याउनु हुन्छ भन्ने लागेको थियो । तर त्यो भएन ।’
जिल्ला कार्यसमितिमा निर्वाचित ४० सदस्य मध्ये कुनै पनि निर्णयलाई पारित गर्नको लागि गणपुरक संख्या २१ हो । तर पार्टी सभापति गौडेलले १७ जनाको हस्ताक्षर गरेर पहिलो बैठकमै सबै निर्णय गरेको आरोप केन्द्रीय महाधिवेशन प्रतिनिधि कुर्मीले लगाए । उनले भने,‘पहिलो बैठकमा गणपुरक संख्या नपुगेपछि स्थगित गरिएको थियो । तर सभापतिले एक–एक जना गरेर १७ जनाको हस्ताक्षर गरेर निर्णय गर्नु भएको छ ।जुन गणपुरक संख्या होइन । पार्टी विधान विपरित गरिएका निर्णय खारेज गर्न हामी अनुरोध गर्दछौं ।’
तर कुर्मीले लगाएको आरोपमा सत्यता नभएको पार्टी सभापति गौडेलले कालपृष्ठ दैनिकलाई बताए । स्थानीय निर्वाचनमा बाँके कांग्रेसले प्राप्त गरेको सफलतालाई पचाउन नसकेको समुहले तालाबन्दी गरेको गौडेलले आरोप लगाए ।
उनले भने,‘उहाँहरुले लगाएको आरोपको बारेमा केन्द्रले छानबिन गरिरहेको छ । यसका बारेमा केन्द्रले निर्णय गर्ला । केन्द्रले छानबिन गरिरहेको विषयलाई लिएर पार्टी कार्यालयमा तालाबन्दी गर्नु गलत कार्य हो । यसले नेतृत्वलाई हतोसाही बनाउने प्रयास गरेको देखिन्छ जुन गैरराजनिति चरित्र भएका व्यक्तिले गर्ने गर्छन ।’
सभापति गौडेलले गरेको निर्णयको विरुद्धमा पार्टीको केन्द्रीय तहमा उजुरी परिसकेको छ ।जसलाई छानबिन गर्नका लागि केन्द्रीय देबेन्द्रराज कंडेल बाँकेमा आएर दुबै पक्षसँग छलफल गरेर आवश्यक कागजात लिएर फर्किएका थिए ।
स्थानीय निर्वाचनमा अन्तरघातीलाई पार्टीले कारबाही गर्ने निर्णय गरेकोले डराएर पार्टी कार्यालयमा तालाबन्दी गरिएको उनले आरोप लगाए । उनले अगाडी भने,‘बाँकेमा कांग्रेसले २०४६ सालपछि ठुलो सफलता प्राप्त गरेको छ । यसलाई धेरै साथीले पचाउनु सक्नु भएको छैन । पार्टीलाई बदनाम गराउन, कमजोर बनाउन तालाबन्दी गरिएको हो । ’
बुधबार नेपाली कांग्रेसका केन्द्रीय महाधिवेशन प्रतिनिधि एवम् संविधान सभा सदस्य बादशाह कुर्मी, केन्द्रीय महाधिवेशन प्रतिनिध राजकुमार बर्मा, निरञ्जन सिंह सिंजापति, नेपाली कांग्रेस बाँके सचिव सन्जु चौधरी, सह सचिव बिनोद थारु, सदस्य अशोक श्रेष्ठ लगायतको टोलीले तालाबन्दी गरेको थियो ।
नेपाली कांग्रेसको विधान २०१७ संशोधित सहित २०७६ अनुरुप गर्नु पर्ने कार्य समयमै गरी पुर्णता दिनु पर्नेमा सभापति गौडेलले आफु अनुकुलका व्यक्तिहरुको सल्लाहमा कार्यसमितिको बैठकमा बहुमतले पारित नगरेको अवस्थामा उक्त निर्णय गरेको भन्दै असन्तुष्ट पक्षले बिरोध गर्दै आएका छन ।