काठमाण्डौमा चम्कदै मध्यपश्चिमको क्रिकेट टिम, छनोट चरणका सबै खेलमा बिजयी
Monday, April 17th, 2017, 4:23 am
amit
संगिन शर्मा
कोहलपुर- राजधानीमा जारी नेक्सस यू–१६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा मध्यपश्चिमको टिमले कृतिमानी पारी खेलेको छ । मध्यपश्चिमबाट प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी भएको मध्यपश्चिम क्रिकेट क्लबले छनोट चरणका सबै खेलमा बिजयी हुँदै क्वाटरफाईनल चरणमा प्रवेश गरेको छ ।
छनोट चरण अन्तर्गत आईतबार सम्पन्न अन्तिम खेलमा युनाईटेड क्रिकेट क्लब बिर्तामोडलाई ३ विकेटले पराजित गर्दै मध्यपश्चिमको टिम क्वाटरफाईनलमा प्रवेश गरेको हो । टस जितेर पहिले ब्याटिङ रोजेको मध्यपश्चिमले ७ विकेटको क्षतीमा १ सय ६१ रन जोड्न सफल भएको थियो ।
ठुलो स्कोर खडा गर्ने क्रममा मध्यपश्चिमका भरत वलीले अर्धशतकिय पारी खेलेका थिए । उनले नटआउट ५१ रन प्रहार गरेका थिए भने बिशाल के.सी. ले ३३ र लभकुश यादवले २१ रनको योगदान गरेका थिए । १ सय ६२ रनको लक्ष्य पछ्याउँदै मैदान प्रवेश गरेको युनाईटेड क्रिकेट क्लब, बिर्तामोड निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै ९० रनमा समेटिएको थियो ।
बिर्तामोडलाई सस्तैमा समेट्ने क्रममा मध्यपश्चिमका कप्तान दिपेन्द्र रावतले ३ विकेट लिएका थिए । त्यसैगरी लभकुश यादव र सौगात रानाभाटले समान २÷२ विकेट लिएका थिए । निकै दबावमा देखिएका बिर्तामोडका खेलाडीहरुले मध्यपश्चिमका बलरहरुलाई हिट गर्न नसक्दा पराजय भोग्नुपरेको थियो ।
आईतबार सम्पन्न प्रतियोगिताको म्यान अफ द म्याच मध्यपश्चिमका खेलाडी भरत वली घोषित भए ।
यसैबिच प्रतियोगिता अन्तर्गत शनिबार सम्पन्न खेलमा मध्यपश्चिमले जनमैत्री भक्तपुरको टिमलाई फराकिलो रन अन्तरले पराजित गरेको थियो ।
जनमैत्री भक्तपुरलाई १ सय ३८ रन अन्तरले पराजित गर्ने क्रममा मध्यपश्चिमका खेलाडीहरुको ब्याटिङ र बलिङले प्रतियोगितामा तहल्का मच्चाएको टिम ब्यवस्थापक तथा अन्तराष्ट्रिय स्कोरर होमेन्द्र क्षेत्रीले जानकारी दिए ।
प्रतियोगिताको दाबेदारको रुपमा हेरिएको मध्यपश्चिमले यसअघि शुक्रबार नेपाल पुलिस क्लबलाई पराजित गर्दै प्रतियोगितामा ह्याट्रिक गर्ने पहिलो टिम बनेको थियो । मध्यपश्चिमका खेलाडी सद्धाव अन्सारी र भरत वलीले प्रतियोगितामा अर्धसतकीय पारी खेल्दै आएका छन ।
पुर्व राष्ट्रिय खेलाडी दुर्गा सेनको बिशेष प्रशिक्षण तथा राष्ट्रिय स्कोरर होमेन्द्र क्षेत्रीको विशेष निगरानिमा रहेका मध्यपश्चिमका खेलाडीहरुलाई नेपाली क्रिकेट टिमका पूर्व कप्तान लेखबहादुर क्षेत्री, राष्ट्रिय टिमका सहायमक प्रशिक्षक दिपेन्द्र प्रताप सिंह लगाएतले प्रशिक्षण दिदै आएका क्बलका उपाध्यक्ष संगिन शर्माले जानकारी दिए । प्रतियोगिता अन्तर्गत मंगलबार क्लबले क्वाटरफाईनलका लागि प्रतिष्पर्धा गर्ने
टिम प्रशिक्षक नितेष विष्टले जानकारी दिए ।
बैशाख ५ गतेसम्म संचालन हुने प्रतियोगिताको बिजेताले १ लाख ५० हजार नगद प्राप्त गर्ने छ भने उप बिजेतालाई १ लाख नगर पुरस्कार प्रदान गरिने छ ।