राप्ती सोनारीका अधिकांस स्थानमा अवैध उत्खनन्
Saturday, June 4th, 2022, 7:05 pm
Kalpristha
‘जुन लक्ष्यका साथ आगामी वर्षको योजना बनाउने तयारीमा हामी छौं, त्यसका लागि आन्तरिक आम्दानी कति छ र खर्च कति छ भन्ने आय÷व्ययको अनुमान गर्नुपर्ने हुन्छ,’ डाँगीले भने ‘हामीले करिब ७० वटा घाटगद्दी नापजाँच गरेका छौं, एउटै घाटगद्दीबाट हामीलाई डेढदेखि दुई करोड राजश्व आउने अनुमान प्रक्षेपन गरेका छौं, सानो घाटगद्दीबाट पनि ४/५ लाख आउने अनुमान गरेका छौं ।’
राप्ती सोनारीका अधिकांस स्थानमा नदीजन्य सामाग्रीको अवैध घाटगद्दी तथा अवैघ उत्खनन् भएको पाइएको छ । राप्ती सोनारी गाउँपालिकाले अनुगमन गर्ने क्रममा नदीजन्य सामाग्री उत्खनन् गरेर मनलाग्दी रुपले घाटगद्दी गरेको पाइएको हो ।
गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेल, उपाध्यक्ष मनिषासिंह थारु, प्रमुख प्रशासकिय अधिकृत शिंहराज डाँगीसहित वडाअध्यक्ष, कार्यपालिका सदस्य तथा कर्मचारीलगायतको संयुक्त टोलीले अनुगमन गरेका थिए । उक्त टोलीले बिहीबार र शुक्रबार राप्ती सोनारीका विभिन्न क्षेत्रमा रहेका क्रसर उद्योगहरुको अनुगमन गरेको हो ।
उक्त टोलीले बिहीबार राप्ती सोनारीको वडा नम्बर ४, ५ र ६ तथा शुक्रबार वडा नम्बर २, ८ र ९ का विभिन्न घाटगद्दी तथा क्रसर उद्योगको स्थलगत अनुगमन गरेको थियो । गाउँपालिका अध्यक्ष पौडेलले प्राविधिकले नापजाँच गर्दा अनुमति भन्दा बढी नदीजन्य सामाग्री फेला पारिएको र अधिकांस स्थानमा अबैध उत्खनन र घाटगद्दी गरेको पाइएको बताए ।
‘राजश्व तिरेको रकम थोरै, तर सामाग्री धेरै राखेको देखियो,’ उनले भने, ‘नदीजन्य सामाग्री कारोबारीले नियम विपरित बीच जंगलमा समेत घाटगद्दी गरेको पाइएको छ । हामी कानुनी आधारको पनि अध्ययन गर्छौ, कसरी अनुमति मिलेको रहेछ, कसरी घाटगद्दी गरेको रहेछ, जिल्ला वन कार्यालयसँग पनि समन्वय गर्छौ, बीच जंगलमा घाटगद्दी गरिनु शंकास्पद देखेका छौं ।’
कालपृष्ठकर्मीसँग कुरा गर्नेक्रममा अध्यक्ष पौडेलले राप्ती सोनारीमा नदीजन्य पदार्थको उत्खनन्मा ठूलो बेथिति रहेको बताए । पौडेल भन्छन्, ‘नदीजन्य पदार्थको यहाँ जुन बेथिति छ, जति पनि क्रसरहरु संचालन भएका छन् । ती कुनै पनि क्रसरहरुको मापदण्ड पुगेका छैन । यहाँ तपाईको राष्ट्रिय गौरवका आयोजना भन्दै सम्झौता गर्ने, बालुवा प्रसोधनका नाममा क्रसरहरु चलाउने देखिएको छ ।’ दोहनलाई रोक्नका निमित्त र यसलाई वैज्ञानिक व्यवस्थापन गर्नका लागि व्यवसायी, प्रशासन, जनप्रतिनिधिहरुको सक्रिय सहभागितामा यसलाई मापदण्डा पूरा गराई करको दायरामा ल्याउने प्रयास गर्ने उनले बताए ।
राप्ती सोनारी २ का वडाअध्यक्ष एवम् कार्यपालिका सदस्य ज्ञानेन्द्रराज ओलीले दुई दिनदेखि अनुगमनमा सबै जनासंगै हिड्दा र प्राविधिकले नापजाँच गर्दा नदीजन्य सामाग्रीबारे धेरै तथ्य फेला पारिएको बताए । ‘पहिलाको घाटगद्दी कति थियो, अहिलेको निकाल्दाखेरी फरक आइरहेको छ, हामीले कार्यपालिका बैठक बसेर यस विषयमा केही न केही रुपले नदीजन्य विषयलाई व्यवस्थापन गर्छौ,’ उनले भने ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले संयुक्तरुपमा अनुगमन गर्न हिड्दा आफूहरुलाई असाध्यै सन्तुष्टी महसुस भएको बताए । ‘जुन लक्ष्यका साथ आगामी वर्षको योजना बनाउने तयारीमा हामी छौं, त्यसका लागि आन्तरिक आम्दानी कति छ र खर्च कति छ भन्ने आय÷ब्ययको अनुमान गर्नुपर्ने हुन्छ,’ डाँगीले भने ‘हामीले करिब ७० वटा घाटगद्दी नापजाँच गरेका छौं, एउटै घाटगद्दीबाट हामीलाई डेढदेखि दुई करोड राजश्व आउने अनुमान प्रक्षेपन गरेका छौं, सानो घाटगद्दीबाट पनि ४÷५ लाख आउने अनुमान गरेका छौं ।’
गाउँपालिकाले विगत दुई वर्षदेखि राप्ती सोनारीका नदी खोलामा ठेक्का लगाउन सकेको छैन् । दुई वर्षदेखि अवैधरुपमा चलेका क्रसर उद्योगको नियमन र अवैध उत्खनन् तथा घाटगद्दी रोक्न गाउँपालिकाले प्रयास गर्दा राप्ती सोनारीवासीले यतिबेला जनप्रतिनिधीको खुलेरै प्रशंसा गरिरहेका छन् ।