तोडफोड गरिएको सेतुविकको शालिकमाथि देखाओटी मर्मत
Saturday, June 4th, 2022, 7:16 pm
Kalpristha
तोेडफोड गरिएको नेपालगन्जस्थित सेतुविक चोकमा रहेको शहिद सेतुविकको शालिकमाथि देखाओटी मर्मत गरिएको छ । शनिबार २१ मार्च आर्थात अन्तर्राष्ट्रिय जातीय विभेद् उन्मुलन दिवसका अवसरमा फुटालिएको सेतुविकको शालिकको भागलाई टालटुल गरिएको हो ।
सेतु विक चोकमा विभेद विरुद्धको दिवस मनाउने क्रममा शालिकको फुटेको भागमा सिमेन्ट लगायर आकार दिइएको हो । उक्त शालिक बिहीबार बिहान करिब १० बजेको समयमा राप्रपा निकटका कार्यकर्ताले तोडफोड गरेका थिए । राप्रप्रा निकटले राजा वीरेन्द्रको शालिक बिहीबार बिहान धम्बोझी चोकमा राखेपछि तनाव सृजना भएको थियो । सोही क्रममा सेतुविकको शालिक तोडफोड गरेको थियो ।
उत्पीडित जातीय मुक्ति समाज बाँकेले शहीद सेतु विक चोकमा कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा उपस्थित सहभागीले शहिद सेतुविकको शालिकमा गरिएको तोडफोडको घटना निन्दनिय रहेको बताएका थिए ।
दिवसमा आयोजित बोल्ने वक्ताहरुले जातिय भेदभाव गर्न नपाईने स्पष्ट कानुनी व्यवस्था भएपनि पछिल्लो समय जातिय भेद्भाव तथा छुवाछुतका घटना वृद्धि भइरहेको भन्दै आपत्ती जनाएका थिए । शहिद सेतुको शालिकमाथिको आक्रमण समग्र दलित समूदायमाथिको आक्रमण भएको उनीहरुको टिप्पणी गरिएको थियो ।
कार्यक्रममा एमाले नेता पशुपति दयाल मिश्र, दलित अधिकारकर्मी निर्मला सुनार, पुजन विश्वकर्मालगायतले छुवाछूत अन्त्यका लागि बनेको कानुनलाई कार्यान्वयनमा ल्याउनु पर्नेमा जोड दिए ।
नेपाललाई वि.स. २०६२ र ६३ को जनआन्दोलन पछि पुनस्थापित संसदले २०६३ साल जेष्ठ १६ गते छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको थियो ।