ज्योतिले मंगोलियनलाई १ सय १५ रनले हरायो
Saturday, June 4th, 2022, 8:13 pm
Kalpristha
नेपालगन्ज उप–महानगरपालिकाको सहयोगमा कोहलपुर क्रिकेट मैदानमा संचालित नेपालगन्ज उप–महानगरपालिका क्रिकेट लिगको शनिबार भएको दोस्रो खेलमा ज्योति स्पोर्टस् एकेडेमीले मंगोलियन क्लबमाथि १ सय १५ रन अन्तरको जित निकालेको छ ।
पहिलो ब्याटिङ गरेको ज्योतिले २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ५० रन बनाएको थियो भने मंगोलियनले १०.५ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै ३५ रनमात्र बनाउन सफल भयो ।
ज्योतिका लागि प्रज्वल शाहीले ४२ रनमा ६ छक्कासहित ४६ रनको योगदान दिए ।
उक्त प्रतियोगितमा ज्योतिका शाहिद अन्सारी म्यान आफ द म्याच घोषित भए । उनले ३ ओभरमा ३ रन दिँदै मंगोलियनका ५ खेलाडीलाई आउट गरेका थिए ।
त्यस्तै दिउँसो भएको खेलमा विग्यबोधमाथि जनचेतना युवा क्लबले जित हासिल गरेको छ । विग्य एण्ड बोध स्पोर्टस् माथि जनचेतनाले ६ विकेटले जित निकालेको हो ।
सुरुमा ब्याटिङ गरेको विग्यबोधले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १५७ रन बनाएको थियो । विग्यबोधका लागि प्रविश गिरीले नटआउट रहेर ३७ बलमा ६१ रनको योगदान दिएका थिए । उनले ७ चौका र ३ छक्का प्रहार गरे ।
विवेक शर्माले २५ बलमा ३ चौकासहित २० रन, उपेन्द्र थपलियाले १८ बलमा २ चौकासहित १२ रन, आशिस आचार्यले १६ बलमा ४ चौकासहित २२ रन र मेघराज ढकालले २१ बलमा १८ रनको योगदान दिए ।
जवाफी ब्याटिङ गरेको जनचेतनाले १७.५ ओभरमा ५ विकेटको क्षतिले लक्ष हासिल गरेको थियो । जनचेतनाका लागि प्रवेश यादवले ३९ बलमा ५ चौकासहित ४९ रनको योगदान दिएका थिए ।
साथै नफिस खानले १४ बलमा ३ चौकासहित १३, असिफ खानले १३ बलमा ७, विशाल पौडेलले ३४ बलमा ७ चौकासहित ४१ रनको योगदान दिए ।
उक्त प्रतियोगितामा जनचेतनाका विशाल पौडेल म्यान आफ द म्याच घोषित भए ।
शुक्रबारदेखि कोहपुर क्रिकेट मैदानमा प्रतियोगिता संचालन गरिएको हो । आयोजकका अनुसार उक्त लिग नकाउट चरणमा खेलाइएको छ । लिगमा आठवटा टिमको सहभागिता रहेको छ ।
लिगमा प्रथम टिमलाई १ लाख, दोस्रो टिमलाई ५० हजारको पुरस्कार राखिएको छ । साथै म्यान अफ द म्याच, बेस्ट ब्याटर, बेस्ट बलर र म्यान अफ त सिरिजको पनि व्यवस्था रहेको छ ।