दाङमा गठबन्धनका उम्मेदवार निर्विरोध निर्वाचित
Wednesday, June 8th, 2022, 6:58 pm
Kalpristha
जिल्ला समन्वय समिति दाङमा गठबन्धनका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् ।
निर्वाचन कार्यतालिका अनुसार जेठ २९ गते हुने निर्वाचनका लागि बुधबार उम्मेदवारी दर्ताको समय रहेको थियो ।
तर तोकिएको समयमा अन्य कुनै पनि पार्टीबाट जिल्ला समन्वय समितिमा उम्मेदवारी दर्ता नभएपछि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रकातर्फबाट उम्मेदवारी दिएका उम्मेदवारहरु निर्विरोध निर्वाचित भएका हुन् ।
जिल्ला समन्वय समिति दाङको प्रमुखमा नेपाली कांग्रेसका नित्यानन्द शर्मा निर्विरोध चयन भएका छन् । नेकपा एमालेले उम्मेदवारी दर्ता नगराएसँगै गठबन्धनका तर्फबाट उम्मेदवारी दर्ता गराएका शर्मा निर्विरोध भए । यद्यपि निर्वाचन आयोगले भने घोषणा गरेको छैन ।
स्थानीय तहको निर्वाचनमा राप्ती गाउँपालिका–७ वडा नम्बरबाट वडा सदस्यमा निर्वाचित भएका शर्मालाई कांग्रेसले जिल्ला समन्वय समिति प्रमुखमा उम्मेदवार बनाएको हो ।
उपप्रमुखमा नेपाली कांग्रेसका चेतना चौधरी निर्विरोध निर्वाचित भएकी छिन् ।
सदस्यमा नेपाली कांग्रेसबाट कुलबहादुर बुढा (खुला सदस्य), हरिदेवी पोख्रेल(महिला सदस्य ), सरस्वती नेपाली (दलित महिला सदस्य), जुनकुमारी बुढा (महिला सदस्य ) र कल्पना शेर्पाइली (महिला सदस्य ) र नेकपा माओवादी केन्द्रका तर्फबाट सदस्यमा टोपाराम चौधरी (खुला सदस्य ) र दुर्पती चौधरी (खुला सदस्य) मा निर्विरोध निर्वाचित भएका छन् ।