सहमति भएपछि अवरुद्ध सडक खुल्यो
Wednesday, June 8th, 2022, 7:07 pm
Kalpristha
राजापुर सडक तीन दिनपछि खुलेको छ । स्थानीय प्रशासन र पीडित पक्षबीच सहमति भएपछि अवरुद्ध सडक खुलेको हो ।
यसअघि बाघ नियन्त्रणका लागि स्थानीयले गरेको प्रदर्शनमा प्रहरीको गोली लागेर एक जना महिलाको मृत्यु भएको थियो भने केही प्रहरी र स्थानीयसमेत घाइते भएका थिए ।
जेठ २३ गते खेतमा काम गरिरहेकी अस्मिता थारुलाई बाघले आक्रमण गरेर घाइते बनाएपछि आक्रोशित बनेका स्थानीयले ओराली बजारमा चक्काजाम गरेका थिए । त्यसलाई खुलाउने क्रममा प्रहरीले गोली चलाएको थियो । गोली लागेर १८ वर्षकी नविना थारुको मृत्यु भएको थियो । त्यसपछि आजसम्म सडक अवरुद्ध थियो ।
ढोढरीस्थित प्रहरी कार्यालयमा बसेको प्रशासन, प्रहरी, जनप्रतिनिधि, राजनीतिक दल र पीडित परिवारका बीचमा भएको सहमति अनुसार मृतकका परिवारलाई २० लाख क्षतिपूर्तिका लागि गृहमन्त्रालयसँग अनुरोध गर्ने, उपयुक्त स्थानमा शालिक बनाउने, मृतकका परिवारलाई रोजगारीका लागि पहल गर्ने, घाइतेको सम्पूर्ण उपचार खर्च व्यहोर्ने, अंगभंग भएमा अपांग सामाजिक सुरक्षा भत्ताका लागि पहल गरिने छ ।
छलफलमा सांसद सन्तकुमार थारु, प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला, मधुवन नगरपालिका प्रमुख चेतबहादुर भाटलगायत पीडित परिवार र राजनीतिक दलका प्रतिनिधिको उपस्थिति थियो ।
बर्दिया घटनाको छानबिन गर्न गृहमन्त्रालयले छुट्टै टोली बनाएको छ । जुन टोली अहिले बर्दियामा रहेको छ ।