नेपालगन्ज–रुपैडियाको समस्याका विषयमा अन्तरक्रिया
Thursday, June 9th, 2022, 8:46 pm
Kalpristha
नेपालगन्जमा बिहीबार नेपाल भारत खुला सीमा संवाद समूह नेपालगन्जले नेपालगन्ज–रुपैडिया जनसम्बन्ध विषयक अन्तरक्रिया कार्यक्रम अयोजना गरेको छ । नेपालगन्ज र रुपैडियाका जनताले भोगेका समस्याका बारेमा छलफल गर्न कार्यक्रमको आयोजना गरिएको हो ।
अन्तरक्रियामा दुवै स्थानका पत्रकार, नेतागणहरु तथा जनप्रतिनिधिको उपस्थिति रहेको थियो ।
अन्तरक्रियामा नेपाल–भारत सीमा नाकामा रिक्साको आवात–जावतमा रोक लगाएका कारण जनमानसले सास्ती भग्नु परेको, नेपालगन्जका होटल व्यवसायले सुरक्षाको मापदण्ड प्रयोग नगरेको, खुला सिमानाका कारण अवैध चोरीपैठारी भई रहेको, भारतमा नेपाली गाडीहरुले सहज पास पाउन नसकेको जस्ता समस्या सहभागीले उठाएका छन् ।
कार्यक्रममा बोल्दै नेपालगन्ज उप–महानगरपालिकाका उपप्रमुख कमरुद्दीन राईले दुवै राष्ट्रको सुरक्षालाई ध्यानमा राखेर देखिएका समस्याको हल गर्नु पर्ने बताए । उनले सीमा भिडभाड कम गर्न रिक्साको आवात जावतमा रोक लगाइएको बताए ।
राईले भारतीय गाडी नेपालमा सहजरुपमा प्रवेश गर्न पाउने तर नेपाली गाडीको लागि पास पाउन २÷३ दिनको समय लाग्ने समस्या देखिएको बताएका छन् । साथै उनले भारतले सीमा नाकामा बनाएको बाटो नभई बाधको रुपमा रहेकाले त्यसले नेपालमा डुबानको स्थिति निम्त्याउने बताए ।
त्यस्तै कार्यक्रममा नेपालगन्ज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष नन्दलाल वैश्यले दुवै पक्षिय समस्याका लागि समिति बनाएर अघि बढ्नु पर्ने सुझाव दिए । उनले दुवै तर्फ समितिका सदस्य भएमा कसैलाई समस्या परेको बेला उनीहरुबाट मद्दत लिन सकिने बताए । साथै उनले यस्ता कार्यक्रम ३÷३ महिनामा हुनु पर्नेमा जोड दिए ।
त्यसैगरी कार्यक्रमका सहभागीहरुले नेपालगन्जका होटल व्यवसायी र घरधनीले घर तथा कोठा भाडामा दिँदा अनिर्वाय रुपमा परिचयपत्रको नियम लागू गर्नु पर्ने बताए । साथै दुवै देशबीच सामाजिक, सांस्कृतिक, रितिरिवाज, रहनसहनको समानता भएका कारण त्यसलाई नखलबलाई समस्या सुल्झाउन सम्बन्धित निकायको ध्यान केन्द्रीत गर्नु पर्ने सुझाएका छन् ।