खोपीलाई सहयोग गर्न नेपालगन्जमा हातेमालो
Saturday, June 11th, 2022, 7:03 pm
Kalpristha
सर्मरानी गाउँपालिका प्यूठानका खोपीराम रानामगरलाई सहयोग गर्न नेपालगन्जमा हामतेमालो अभियान सुरु गरिएको छ । शारीरिकरुपमा असक्त खोपीको जिविकोपार्जनमा सहयोग गर्न अभियान सुरु गरिएको हो ।
विगत ११ वर्षदेखि ह्वीलचियरमा जीवन बिताइ रहेको खोपीलाई चार पाग्रे स्कुटर खरिद गर्नका लागि अभियान सुरु गरिएको अभियानमा संलग्न नेपालगन्ज उप–महानगरपालिकाकी निवर्तमान उप–प्रमुख उमा थापामगरले जनाकारी गराइन् ।
खोपी विगतमा ट्रक ड्राइभर हुन् । २०६८ सालमा रुखले च्यापिएर उनी घाइते भएका थिए । सो पश्चात उनको कम्मरदेखि तलको भाग पूर्णरुपमा असक्त बनेको छ । उनी ह्वीलचियरको सहायतामा आफ्नो दिनचर्या गर्छन् । उनलाई दिसा पिसाब आएको पनि थाहा हुँदैन भने पिसाव पाइपको माध्यामबाट फेर्ने गर्छन् ।
तर अचम्मको कुरा खोपी यस्तो अवस्थामा किसान र कुखुरा पालन गर्छन् । उनी आफूले उत्पादन गरको तरकारी र कुखुरा आफूसँगै ह्वीलचियरमा राखेर बिक्री गर्ने गर्छन् ।
खोपी भन्छन्, ‘कतिले काही त १०/१२ किलोमिटरसम्म पनि ह्वीलचियरमा सामान बिक्री गर्न हिँडेको छु ।’
खोपीको परिवारमा बुबाआमा, श्रीमति, दुई छोरी र एक छोरा छन् ।
हातेमालो अभियानमा जोडिएकी महिला उद्यमी विन्दु चर्तीमगर खोपीको जीविकोपार्जनमा केही सहयोग होस् भनेर आर्थिक संकलन अभियान थालनी गरेको बताउँछिन् । उनले भनिन्, ‘हाम्रो उद्देश्य खोपी मगरलाई सहयोग गर्ने भन्दा पनि उनलाई प्रेरित गर्ने हो ।
उनलाई हिड्डुल गर्न र आफूले उत्पादन गरेका सामानहरु सहज तरिकाले बिक्री गर्न उनका लागि स्कुटर खरिद गर्न रकम संलकन अभियान थालेका हौं ।’
खोपीको लागि स्कुटर खरिद गर्न २ लाख रुपैयाँ खर्च अनुमानित गरिएको छ । जसका लागि नेपालगन्जबाट सहयोगी हातहरु र अभियान नेपालले सहकार्य गरी रहेको छ । उनीहरुले शनिबारदेखि अभियान संचालन गरेका हुन् ।
..