नेपालगन्ज र घोराहीमा वृक्षारोपण अभियान सुरु
Saturday, June 11th, 2022, 7:56 pm
Kalpristha
बाँकेको नेपालगन्ज र दाङको घोराहीमा वृक्षारोपण अभियान सुरु गरिएको छ ।
डिभिजन वन कार्यालय घोराहीले यसवर्ष जिल्लामा ७८.५ हेक्टर खाली जमिनमा वृक्षारोपन गर्ने भएको छ भने नेपालगन्जमा शनिबार ‘क्लिन नेपालगन्ज, ग्रिन नेपालगन्ज’ ले सुरु गरेको अभियानअन्तर्गत १९० औं हप्ताको वृक्षारोपण गरिएको हो ।
नेपालगन्ज उप–महानगरपालिकाको रामलिला मैदानमा नगर प्रमुख प्रशान्त विष्टको प्रमुख आथित्यतामा वृक्षारोपन गरिएको छ । वृक्षारोपनमा नगर प्रमुख विष्टसँगै क्लिन नेपालगन्ज, ग्रिन नेपालगन्जमा आवद्ध अभियन्ता, राजनीतिककर्मी, समाजसेवीलगायत उपस्थित भएका थिए ।
त्यस्तै दाङमाविगतका वर्षहरु जस्तै यसवर्ष वृक्षारोपणका लागि ४ लाख ४० हजार विरुवा तयारी अवस्थामा रहेको डिभिजन वन कार्यालय घोराहीले जनाएको छ । कार्यालयको वार्षिक योजना अनुसार ७८.५ हेक्टर जमिनमा वृक्षारोपन गर्ने कार्यक्रम रहे पनि यो बढ्न सक्ने कार्यालय जनाएको छ ।
..
डिभिजन वडा कार्यालयले जिल्लामा वर्षेनि वनजन्य, जडिबुटी र सौन्दर्य प्रजातिका विरुवाहरु रोप्नका लागि विरुवा उत्पादन गर्दै आएको छ । वन क्षेत्रको संरक्षण गर्दै हरियाली कायम गर्ने कार्यक्रमअन्तर्गत बहुवर्षीय बिरुवा १ लाख ५० हजार बिरुवा र अन्य एक वर्षभन्दा बढीका विभिन्न प्रजातिका २ लाख ९० हजार गरी ४ लाख ४० हजार बिरुवा तयार रहेको डिभिजन वन कार्यालय घोराहीका प्रमुख मोहनप्रसाद श्रेष्ठले जानकारी दिएका छन् । विरुवाहरु वनजन्य र जडिबुटी प्रजातिका बिरुवाहरु रहेको बताए ।
कार्यालय प्रमुख श्रेष्ठका अनुसार वनजन्य बिरुवाहरु नदी उकास क्षेत्रमा २५ हेक्टर र सामुदायिक तथा सार्वजनिक क्षेत्रको २० हेक्टर जग्गामा वृक्षारोपण गर्ने कार्यक्रम रहेको छ ।
नदी उकास भनेको बबई नदीको खाली क्षेत्रअन्तर्गत विभिन्न ठाउँमा विरुवा रोप्न थालेको डिभिजन प्रमुख श्रेष्ठले बताए । त्यसैगरी बाँकी जमिनमा जडिबुटी र सौन्दर्य प्रजातिका विरुवाहरु रोपिने भएको छ । जडिबुटी प्रजातिका विरुवाहरु बंगलाचुली गाउँपालिका, घोराही उप–महानगरपालिका वडा नं. १८ र १९ र दंगीशरण गाउँपालिकाका केही स्थानमा रोपिने भएको डिभिजन प्रमुख श्रेष्ठले बताए ।
श्रेष्ठका अनुसार जडिबुटीहरुमा डिभिजन कार्यलयले ब्लक तथा पकेट क्षेत्रका रुपमा लिएका ठाउँहरुमा टिमुर, मालागेडी र दालचिनीलगायतका बिरुवा रोप्ने योजना रहेको डिभिजन वन कार्यालय प्रमुख श्रेष्ठले बताए ।
कार्यालयका अनुसार वृक्षारोपणका लागि पुरन्धारा नर्सरीमा ६० हजार, तुलसीपुरमा रहेको नर्सरीमा ३५ हजार र घोराहीका तीन ठाउँमा रहेका नर्सरीहरुमा करिब ३ लाख बिरुवाहरु उत्पादन भइरहेका छन् । घोराही–१८ अम्बापुरमा रहेको नर्सरीमा बिरुवा उत्पादन गर्ने र घोराही उप–महानगरपालिका गेटअगाडि रहेको नर्सरी र भरतपुर सव–डिभिजन कार्यालयअन्तर्गतको जमिनमा राखेर बिरुवा हुर्काउने काम भइरहेको कार्यालयले जनाएको छ ।