नेपालगन्जलाई बालश्रममुक्त बनाइने
Sunday, June 12th, 2022, 8:32 pm
Kalpristha
नेपालगन्ज उप–महानगरपालिकालाई बालश्रम मुक्त बनाइने भएको छ ।
विश्व बालश्रमबिरुद्ध दिवसको अवसरमा नेपालगन्ज उप–महानगरपालिकाले आइतबार आयोजना गरेको बालश्रम सम्बन्धि सरोकारवालाहरुसँगको अन्तरक्रिया कार्यक्रममा नगर प्रमुख प्रशान्त विष्टले बालश्रम ठूलो समस्याको रुपमा रहेको बताउँदै यसको नियन्त्रण र रोकथाम अति आवश्यक भएको बताए ।
उनले यसका लागि उपयुक्त कार्ययोजना बनाउन आग्रह गर्दै आगामी बजेटमा प्रर्याप्त बजेट विनियोजन गर्ने प्रतिवद्धतासमेत ब्यक्त गरे ।
नेपालगन्जलाई बालमैत्री नगरको रुपमा विकास गर्दै अघि बढ्नेमा विष्टले जोड दिएका छन् ।
कार्यक्रममा उप–प्रमुख कमरुद्दीन राईले बालश्रममा रहेका बालबालिकालाई एक्कासी घर फिर्ता गराउनु भन्दा यसको जडको खोजी गर्नुपर्नेमा जोड दिए । अधिकांश विपन्न समुदायका बालबालिका नै बालश्रममा रहेको भन्दै राईले बालबालिकाले काम नगरे साँझ बिहानको चुल्हो नजल्ने घरपरिवारलाई लक्षित गरेर कार्यक्रम प्रस्ताव गर्न आग्रह गरे ।
विपन्न परिवारलाई आयआर्जनका लागि सहयोग गर्ने र शिक्षा, स्वास्थ्यमा सहयोग गर्ने हो भने बालश्रम न्यूनीकरणमा सहयोग पुग्ने राईको तर्क थियो ।
कार्यक्रममा नेपालगञ्ज उप–महानगरपालिकाका महिला विकास अधिकृत पवित्रा पुरी, बाल अधिकारकर्मी महेश नेपालीलगायतले सहजिकरण गरेका थिए ।