सुर्तीजन्य पदार्थबाट वर्षेनि नेपालमा २७ हजारको मृत्यु
Monday, June 13th, 2022, 5:13 pm
Kalpristha
नेपालमा करिब २७ हजार भन्दा बढी व्यक्तिको मृत्यु सुर्तीजन्य पदार्थको सेवनका कारण हुने गरेको पाइएको छ । जुन नेपालमा हुने कूल मृत्युको १५ प्रतिशत हो ।
नेपालको कूल जनसंख्याको २८.९ प्रतिशत मानिसहरुले सुर्तीजन्य पदार्थ सेवन गर्ने गरेको तथ्यांक सार्वजनिक गरिएको हो । जसमा ४८.३ प्रतिशत पुरुष र ११.६ प्रतिशत महिलाहरु रहेका छन् ।
सोमबार नेपालगन्जमा आयोजना गरिएको धुम्रपान तथा सुर्तीजन्य पदार्थको प्रभाव र नियन्त्रण सम्बन्धी पत्रकारहरुसँग गरिएको अन्तरक्रियामा हेल्थ टुडेका सम्पादक पदमराज जोशीले कार्यक्रम नेपालमा सुर्तीजन्य पदार्थ प्रयोगकर्ता बढेको बताएका हुन् ।
कार्यक्रममा हेल्थ टुडेका सम्पादक पदमराज जोशीले नेपालमा सुर्तीजन्य पदार्थको सेवनका कारण हुने मुटुसम्बन्धी रोगका कारण २८ प्रतिशत मानिसहरुको मृत्यु हुने गरेको बताए । उनले फोक्सो क्यान्सरमा ९० प्रतिशत क्यान्सर सुर्तीजन्य धुम्रपानको प्रयोगबाट हुने गरेको बताए ।
जोशीले सुर्तीजन्य पदार्थको सेवनका कारण हुने नकारात्मक असरबारे जानकारीको कमी, अरुको देखासिकी, सानै उमेरदेखि सेवन गर्न सिक्ने, तनाव कम गर्न, सुरुवाती दिनमा मनोरञ्जन र फेसनको रुपमा लिने र पछि यसकोलत बस्न जाने हुनाले यसको सेवनमा वृद्धि हुँदै गएको बताए ।
सुर्तीजन्य पदार्थ सेवनमा शिक्षित व्यक्तिभन्दा अशिक्षित व्यक्तिले बढी प्रयोग गर्ने गरेको पाइएको छ । जोशीका अनुसार मानिसमा पढाइको स्तर जति धेरै भयो त्यतिनै सुर्तीजन्य पदार्थको प्रयोगमा कमी आएको बताए । जोशीले नेपालमा प्रयोग हुने सुर्तीजन्य पदार्थमा सबैभन्दा बढी चुरोट, बिँडी, हुक्का, गु्ट्का र सुर्ती रहको बताए ।
हरेक वर्ष ८० लाख मानिसको मृत्यु
विश्वभर हरेक वर्ष ८० लाख मानिसहरुको मृत्यु सुर्तीजन्य पदार्थको सेवनबाट हुने पनि कार्यक्रममा जनाएको छ । जसमा ७० प्रतिशत आफैंले सुर्तीजन्य पदार्थको सेवनको असरबाट मृत्यु हुने गरेको छ ।
विश्वभरमा १ खर्ब ३० करोड सुर्तीजन्य पदार्थको सेवनकर्तामध्ये ८० प्रतिशत न्यून र मध्यम आय भएका देशमा बसोबास गर्ने जनाइयो ।