निर्वाचनमा सुधारको खाँचो
Monday, June 13th, 2022, 8:07 pm
Kalpristha
निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन सुधारको खाँचो रहेको नेपालगन्जका राजनीतिज्ञहरुले बताएका छन् । सोमबार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नेपालगन्जले आयोजना गरेर स्थानीय तहको निर्वाचन २०७९ पर्यवेक्षण तथा अनुभव आदानप्रदान कार्यक्रममा बोल्ने वक्ताहरुले निर्वाचनमा विशेषतः कर्मचारी खटनपटनमा कमजोरी भएको औंल्याएका छन् ।
सुरक्षा निकायबाट समेत आशातीत भूमिका निर्वाह हुन नसकेको भन्दै वक्ताहरुले कर्मचारीहरुले निष्पक्ष भूमिका निभाउन नसकेको टिप्पणी गरे । मौन अवधिले निर्वाचनको गरिमालाई नै चुनौती दिएको भन्दै उनीहरुले मौन अवधि आवश्यक नरहेको तर्क गरे ।
एमाले बाँकेका अध्यक्ष किष्मत कुमार कक्षपति, नेपाली कांग्रेसका जिल्ला सचिव सुधांशु कोइराला, एमाले सचिव रत्न खत्री, राप्रपाकी नेतृ इन्दिरा शाहीलगायतले निर्वाचनलाई अझ विश्वसनीय बनाउन जरुरी रहेको बताए ।
बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र बहादुर केसी, राष्ट्रिय मानव अधिकार आयोग नेपालगन्जका प्रमुख झंकर रावल, बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारी, जिल्ला निर्वाचन कार्यालय बाँकेकी प्रमुख रमा पन्तलगायतले छिटफुट घटना बाहेक बाँकेमा निर्वाचन शान्तिपूर्ण तरिकाले सम्पन्न भएको बताए ।
उनीहरुले निर्वाचनका बेला सबै पक्षबाट भएका कमी–कमजोरीलाई सच्याएर अब आगामी निर्वाचनलाई अझ व्यवस्थित बनाउनुपर्ने आवश्यकता औंल्याए ।
कार्यक्रमको सहजीकरण इन्सेक नेपालगन्ज प्रमुख भोला महतले गरेका थिए ।