ऐन विपरित नम्बर प्लेट राख्नेलाई जरिवाना
Monday, June 13th, 2022, 8:29 pm
Kalpristha
जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले सवारी साधनमा नम्बर प्लेट नराखेको, स्पष्ट नभएको, केरमेट भएको, खुइलिएको, स्वरुप परिवर्तन गरेको र नम्बर बाहेकका अन्य बस्तु राखीएका सवारीलाई नम्बर प्लेट सुधार अभियानमार्फत कारबाही गर्न थालेको छ ।
जिल्लाका विभिन क्षेत्र तिलोत्तमा, भैरहवा बजार, सालझण्डी, धकधई, लुम्बिनी , बेथरीलगायतका ठाउँमा जेठ ८ गतेबाट अभियानअन्तर्गत चेकजाँच गरी सुधार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी निरीक्षक केशव केसीले बताए । सवारी दुघर्टना भए पनि पहिचान हुन गाह्रो हुने, नम्बर विग्रदा पनि सवारीधनीले बेवास्ता गर्ने, सवारी तथा यातायात ऐन २०४९ ले तोकेको मापदण्ड विपरित नम्बर प्लेट पाएपछि निजी तथा सरकारी कर्मचारीका सवारीसाधन गरी एक हजार ५ सय बढीलाई कारबाही गरी सुधार गरिएको प्रमुख केसीले जनाए ।
धेरै जसो युवापुस्ता विद्यार्थीहरुले सवारी तथा यातायात ऐन, २०४९ विपरित नम्बर प्लेट गर्ने गरेका छन् । नियमविपरीत गर्नेलाई कानूनी दायरामा ल्याई नम्बर प्लेट सुधार गरेर मात्रै २ साताको अवधिमा ७ लाख ५० हजार बढी जरिवाना असुल गरिएको छ । यो तथ्यांक बुटवल बाहेकको हो ।
कारबाही हुनेमा अधिकांश मोटरसाइकल र स्कुटर रहेका छन्, भने पीकअप, हलुका सवारीसाधन, तीन पाङग्रेलगायतका सवारीसाधान पनि छन् । ट्राफिक नियम उल्लंघन गरी हिन्ड्ने, दुर्घटना गरी फरार हुने, अपराधिक क्रियाकलापमा संलग्न हुने जस्ता क्रियाकलापलाई रोक्न पनि अभियानले सहयोग पुग्ने छ ।
सवारी चालकहरूलाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार ट्राफिक प्रहरीले ५०० देखि १५०० सम्म जरिवाना गर्ने व्यवस्था रहे पनि पहिलो चरणमा ५ सय जरिवानासहित नम्बर प्लेट सुधार भइरहेको छ । यसले सवारी धनीहरुलाई आफ्नो सवारीको नम्बर प्लेट स्पष्ट देखिने गरी राख्न र सवारीको चेकजाँच एव मर्मत सम्भार गर्ने बानीको विकास समेत भएको पाइएको छ । कारबाही पर्नेमा अधिकांश मोटसाइकलले प्लेटमा नेपालको झण्डा रहेको पाइएको छ । दैनिक कारवाहीमा पर्न थालेपछि अहिले धेरै सुधार भएको छ ।
कुन साइजको नम्बर प्लेट राख्ने त
यातायात व्यवस्था ऐन २०४९ ले सवारी साधनमा प्रयोग हुने नम्बर प्लेटको साइज निर्धारण गरेको छ । ऐनको अनुसूची २ मा ठूलो र मझौला सवारी साधनको नम्बर प्लेटको हकमा १४ इञ्च लामो ८ इञ्च चौडाको, साना चार पाङ्गे सवारी साधनको हकमा १२ इञ्च लामो ७ इञ्च चौडाको, तिनपाङ्गे सवारी साधनको हकमा १० इञ्च लामो ७ इञ्च चौडाको र दुइपाङ्गै सवारी साधनको हकमा ८ इञ्च लामो ५ इञ्च चौडा हुनु पर्र्ने व्यव्स्था छ ।
नम्बर प्लेटमा लेखिने अक्षर र अंकको साईज ठूलो तथा मझौला सवारी साधनको हकमा कम्तीमा ३ इञ्च अग्लो र १–२ मोटो, साना चार पाङ्गे तथा तीन पाङ्गे सवारी साधनको हकमा २ इञ्च अग्लो र १–२ इञ्च मोटो तथा दुई पाङ्गे सवारी साधनको हकमा २ इञ्च अग्लो तथा ३–८ इञ्च मोटो हुनु पर्दछ ।
नम्बर प्लेटको चारै तिर १–२ इञ्च मोटरसाइकल स्कूटर आदिको प्लेटमा १–४ इञ्च छोडेर अंक र अक्षरमा लेख्नु पर्दछ । अंक र अक्षर बीचको दूरी कम्तिमा १–४ इञ्च तथा तल्लो र माथिल्लो लाइनको दुरी कम्तिमा १–२ इञ्च हुनु पर्ने नियम रहेको छ ।
साभार : लुम्बिनी टाइम्स