बाँके उच्च मातृ मृत्युको जोखिममा
Tuesday, June 14th, 2022, 2:18 pm
Kalpristha
बाँके जिल्लामा सबैभन्दा उच्च मातृ मृत्यु हुने गरेको पाइएको छ । लुम्बिनी प्रदेशको सबैभन्दा उच्च मातृ मुत्युको उच्च जोखिममा बाँके जिल्ला परेको हो ।
एनडिएचएसको सर्वेक्षण अनुसार लुम्बिनी प्रदेशको १२ जिल्लामध्ये बाँके मातृ मृत्युदरको पहिलो नम्बरमा रहेको छ ।
मंगलबार नेपालगन्जमा पत्रकारहरुबीच गरिएको अन्तरक्रिया कार्यक्रममा बाँकेमा प्रदेशकै सबैभन्दा बढी मातृ मत्यु हुने गरेको तथ्यांक सार्वजनिक गरिएको छ । सर्वेक्षणको पछिल्लो तीन आर्थिक वर्षको तथ्यांकअनुसार आर्थिक वर्ष २०७५/७६ मा २९ जना आमाहरुको मृत्यु भएको कार्यक्रममा जनाइएको हो ।
यस्तै आर्थिक वर्ष २०७६/७७ मा ३५ जना र आर्थिक वर्ष २०७७/७८ मा बढेर मृत्यु हुने आमाको संख्या ४८ पुगेको छ ।
स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजंग शाहले बाँके जिल्ला मातृ मृत्युदर पहिलो नम्बरमा रहेको बताउँदै, ‘प्रदेशमा रहेका १२ जिल्लामध्ये बाँकेको अवस्था नाजुक छ । प्रयास गर्दै गर्दा पनि पहिलो नम्बरमा बाँके रहेको छ ।’ शाहले मृत्यु हुने आमाहरुमा सबैभन्दा बढी अस्पताल पुग्ने आमाहरुको मृत्यु भएको बताए ।
अस्पताल जाने ४३ प्रतिशत आमाहरुको मृत्यु हुने गरेको छ, भने अस्पताल वा स्वास्थ्य संस्था लैजाँदै गर्दा २९ प्रतिशत आमाहरुको मृत्यु बाटोमै हुने गरेको तथ्यांकमा जनाइएको छ । यस्तै १४ प्रतिशत आमाको घरमा मुत्यु हुने गरेको छ ।
भेरी अस्पताल नेपालगन्जकी डा.कल्पना थापाले सुरक्षित प्रसुतिका लागि अन्तिम बिकल्पका रुपमा गर्भवती अस्पताल आउने हुँदा प्रयास गर्दै गर्दा मृत्यु हुने गरेको बताइन् ।
‘यसमा पनि प्रयाप्त जनशक्तिको अभाव हुनु मृत्युको कारण हो,’ डा.थापाले भनिन्, ‘अस्पतालमा भौतिक पूर्वधारको कमी हुनु र ढिलो गरी अस्पताल पुग्ने कारणले गर्दा अस्पतालमा मृत्यु हुने आमाहरुको दर बढी देखिएको हो ।’
मृत्यु हुने आमाहरू १९ देखि ३५ वर्ष उमेर समूहका अधिकांश रहने गरेका छन् । यस्तै जिल्लाको आठ पालिकामध्ये सबैभन्दा उच्च जोखिममा नेपालगन्ज उप-महानगरपालिका रहेको छ । आर्थि वर्ष २०७८/७९ को हालसम्म तथ्यांक अनुसार ६ जना आमाले ज्यान गुमाएका छन् ।