पटक–पटक विवादमा तानिएकी मन्त्री प्रहरीको नियन्त्रणमा
Tuesday, June 14th, 2022, 6:45 pm
Kalpristha
यसअघी पटक–पटक विवादमा तानिएकी लुम्बिनी प्रदेशका स्वास्थ्य राज्यमन्त्री विमला कुमारी खत्री(वली)लाई प्रहरीले नियन्त्रणमा लिएको छ । वाईसिएलका नेता एकराज बस्नेतकी श्रीमति र छोरीलाई कुटपिट गरेको अभियोगमा प्रहरीले राज्य मन्त्री वलीलाई नियन्त्रणमा लिएको हो ।
ईलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार वलीलाई अनुसन्धानकालागि नियन्त्रणमा लिइएको हो । वलीमाथि बस्नेतकी श्रीमति र छोरीले आफूमाथि राज्यमन्त्री वलीले हातपात गरेको आरोप लगाएका छन् ।
मंगलबार बिहान मन्त्री ओलीले तुलसीपुर नगरपालिका–५ बसपार्क स्थित घरमै गएर कुटपिट गरेको भन्ने सूचना पाएपछि प्रहरी त्यहाँ पुगेको थियो । सो समयमा बस्नेत भने घरमा थिएनन् । प्रहरीका अनुसार यो समाचार तयार पार्दासम्म उनी सम्पर्कविहीन छिन् । बस्नेत वाइसिएल कार्यकर्ता हुन् ।
वली सांसद् हुँदादेखि नै पटक पटक विवादमा तानिएकी छिन् । बस्नेत र वलीले चुम्बन गरेको तस्बिर सार्वजनिक भए पछि पनि विवादित भएको थियो । चुम्बन गरेका तस्बिर सार्वजनिक भएपछि एमाले र माओवादीमा खैलाबैला मच्चिएको थियो । पछि फेसबुकमा देखिएको यो तस्बिर केही समयमा हटाइएको थियो ।
लुम्बिनी प्रदेशमा एमालेको सरकार ढाल्न निर्णायक बनेकी विमला कहिले माओवादी त कहिले एमाले बनेर चर्चामा रहिन् । उनीले पछि माओवादी रोजेकी हुन् । त्यही बेला उनलाई मुख्यमन्त्री शंकर पोखरले अपहरण गरेर मुख्यमन्त्री निवासमा राखेको भन्दै पत्रकार सम्मेलन गरेर बताएकी थिइन् ।
विमला एमालेका तत्कालीन सांसद स्वर्गीय उत्तरकुमार वलीकी पत्नी हुन् । उत्तरको दुर्घटनामा निधन भएपछि उनलाई श्रीमानकै निर्वाचन क्षेत्रमा तत्कालीन नेकपाले उम्मेदवार बनाएको थियो । काँग्रेस नेता केशव आचार्यलाई पराजित गर्दै विमला सांसद बनेकी थिइन् ।