विद्युत् समस्याबारे कुलमानसँग विष्टको छलफल
Tuesday, June 14th, 2022, 6:48 pm
Kalpristha
नेपालगन्ज उप–महानगरपालिकाका प्रमुख प्रशान्त विष्टले नेपालगन्जमा देखिएको विद्युत् अनियमितताको समाधानका विषयमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग छलफल गरेका छन् ।
नेपालगन्जमा केही समययता विद्युत अनियमितता बढेपछि नगर प्रमुख विष्ट प्राधिकरणको कार्यालयमा पुगेर मंगलबार कार्यकारी निर्देशक घिसिङसँग छलफल गरी समस्या समाधानका लागि ध्यानाकर्षण गरेका हुन् ।
छलफलमा नगर प्रमुख विष्टले नेपालको सबैभन्दा बढी गर्मी हुने शहर नेपालगञ्जमा विद्युत् अनियमितता बढेपछि जनजीवन अस्तब्यस्त भएकोे भन्दै समस्याको दिर्घकालिन समाधानका लागि कार्यकारी निर्देशक घिसिङको ध्यानाकर्षण गराए । सो अवसरमा कार्यकारी निर्देशक घिसिङले नेपालगन्जमा बुटवल र महेन्द्रनगरबाट विद्युत आपूर्ती हुने भएको र त्यसको दुरी लामो भएका कारण विद्युत् अनियमितता हुने गरेको भन्दै तार लगायतका अन्य समस्या समाधान गरी केही दिनमै समस्याको समाधान हुने आश्वासन दिएको प्रमुख विष्टले बताए ।
यसैगरी नगर प्रमुख विष्टले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहसँग पनि भेटघाट गरेका छन् । भेटमा नगर प्रमुख विष्टले शाहलाई नेपालगन्ज आउन औपचारिक आमन्त्रण गरे ।
काठमाडौं र नेपालगन्जका प्रमुखबीच विकास निर्माण लगायतका विषयमा छलफल भएको थियो ।