सेवाग्राहीलाई पानी उपलब्ध गराउँन ध्यानाकर्षण
Tuesday, June 14th, 2022, 8:26 pm
Kalpristha
नेपालगञ्ज देशकै सबै भन्दा बढी गर्मी हुने स्थान हो । प्रत्येक वर्ष चर्को गर्मी र तातो हावा (लु) का कारण सर्वसाधारण तथा सेवाग्राहीलाई निकै सास्ती हुने गरेको छ । यस वर्ष पनि नेपालगञ्जमा प्रचण्ड गर्मी छ । गर्मीको समयमा बाँकेका विभिन्न सरकारी कार्यालयहरुमा जाने सेवाग्राहीलाई शितलमा बस्ने व्यवस्था, स्वच्छ र सफा पानी पिउन नपाएर समस्या भएको छ ।
यता नेपालको संविधान २०७२ को धारा ३५ अन्तर्गत स्वास्थ्य सम्वन्धीको हकको उपदफा (४) मा समेत स्वच्छ खानेपानी प्रत्येक नागरिकलाई व्यवस्था गर्ने व्यवस्था रहेको छ । तर कार्यनवयन भने कमै भएको पाइन्छ ।
जिल्ला प्रशासन कार्यालय बाँकेमा आउने सेवाग्राहीका लागि स्वच्छ, शुद्ध, सितल पानी पिउनका लागि समस्या भएको छ । प्रशासनले आफंै खानेपानीको व्यवस्थापन नगरे पनि केही महिना अघि डुडुवा गाउँपालिकाको आर्थिक सहयोगमा जडान गरिएको शुद्ध खानेपानी मेसिन लामो समय देखि बिग्रिएर सेवाग्राहीले पानीसमेत पिउन नसकेपछि सो को तत्काल संचालन गर्न नागरिकस्तरबाट प्रशासनको ध्यानाकषर्ण गराइएको छ ।
सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष विश्वजित तिवारीको नेतृत्वमा नागरिक समाजका अभियन्तासहितको टोलीले आज मंगलबार जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपबहादुर केसीलाई ध्यानाकर्षण गराएको जानकारी दिए ।
ज्ञापनपत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी केसीले बिग्रिएको खानपानीको फ्रिजर फिल्टर मेसिन तत्काल मर्मत गरिने प्रतिबद्धता गर्दै जिल्लाका अन्य सरकारी कार्यालयहरुमा पनि सेवाग्राहीका लागि खानेपानीको व्यवस्था बारे अनुगमन गरी नभएको कार्यालयमा व्यवस्था गराउने बताए ।