दाङमा ५ दिन भूमे पर्व मनाइने
Tuesday, June 14th, 2022, 8:29 pm
Kalpristha
दाङमा पाँच दिनसम्म भव्यताका साथ भूमे पर्व मनाइने भएको छ । नेपाल मगर संघ दाङ शाखाले मंगलबार घोराहीमा पत्रकार सम्मेलनको आयोजनामा असार १ गतेदेखि पाँच गतेसम्म मनाइन थालेको पर्वको बारेमा जानकारी दिएको हो ।
कोरोनाका कारण २ वर्ष यता मनाउन नपाइएको भूमे पर्व यसबर्ष भव्य कार्यक्रमको आयोजना गरेर मनाउन थालिएको नेपाल मगर संघ दाङका अध्यक्ष खलुप्रसाद पुनले जानकारी दिएका छन् । उनका अनुसार बुधबार असार १ गते बिहान साढे ११ बजेदेखि कार्यक्रमका लागि सहिद लखन थापा पार्कबाट ¥याली निकालिने भएको छ ।
भूमे पर्वको बुधवार दिउँसो १ बजे नेपाल मगर संघको प्रांगणमा पूर्व सभामुख ओनसरी घर्तीले उद्घाटन गर्ने कार्यक्रम रहेको अध्यक्ष पुनले बताए । उनका अनुसार पर्वको असार पाँच गते लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले समापन गर्ने छन् ।
पत्रकार सम्मेलनमा बोल्दै नेपाल मगर संघका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश वरिष्ठ उपाध्यक्ष सितलाल पुनले खासगरी १८ मगरातहरुमा पुर्खादेखि मनाउँदै आएको पर्व भएको जानकारी दिएका छन् ।
पत्रकार भेटघाटमा नेपाल मगर संघ दाङका सचिव मुक्त बुढामगरले भूमे पर्वको अवसरमा रुकुम पूर्वमा विदा दिइएको भएपनि दाङमा विदा नदिइएको प्रति गुनासो गरेका छन् । उनले भूमे पर्वको समयमा बालबालिकाहरु विद्यालय जाने र उनीहरुलाई संस्कृतिको विषयमा जानकारी दिन समस्या हुने भएकाले सार्वजनिक विदाको समेत माग गरेका छन् ।
नेपाल मगर संघ दाङले भूमे पर्वको अवसरमा असार १ गते भूमे नाच प्रतियोगिताको आयोजना गर्नेछ । चार समूहमा विभाजन गरेर आयोजना गरिने भएको छ । १४ वर्ष भन्दा कम उमेर समूहको एउटा, १५ देखि २५ वर्ष उमेरका समूह, २६ देखि ६० वर्ष उमेर समूहका र ६१ वर्ष माथिकाको उमेर समूह बनाएर प्रतियोगिता गर्न थालिएको नेपाल मगर संघ दाङका अध्यक्ष खलुप्रसाद पुनले जानकारी दिएका छन् ।