विद्युत् र सरसफाइका समस्या सुल्झाउन विष्ट पुगे काठमाडौं
Tuesday, June 14th, 2022, 8:42 pm
Kalpristha
नेपालगन्ज उप–महानगरपालिकाका प्रमुख प्रशान्त विष्ट काठमाडौं पुगेका छन् । मंगलबार काठमाडौंमा विष्टले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहसँग भेटवार्ता गरेका छन् ।
सोमबार काठमाडौंमा व्यस्त रहेका प्रमुख विष्टले विद्युतीय समस्याका विषयमा छलफल गरेका छन् ।
प्रमुख प्रशान्त विष्टले नेपालगन्जमा देखिएको विद्युत् अनियमितताको समाधानका विषयमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग छलफल गरेका छन् ।
नेपालगन्जमा केही समययता विद्युत् अनियमितता बढेपछि नगर प्रमुख विष्ट प्राधिकरणको कार्यालयमा पुगेर मंगलबार कार्यकारी निर्देशक घिसिङसँग छलफल गरी समस्या समाधानका लागि ध्यानाकर्षण गरेका हुन् ।
छलफलमा नगर प्रमुख विष्टले नेपालको सबैभन्दा बढी गर्मी हुने शहर नेपालगन्जमा विद्युत् अनियमितता बढेपछि जनजीवन अस्तब्यस्त भएकोे भन्दै समस्याको दीर्घकालीन समाधानका लागि कार्यकारी निर्देशक घिसिङको ध्यानाकर्षण गराए । सो अवसरमा कार्यकारी निर्देशक घिसिङले नेपालगन्जमा बुटवल र महेन्द्रनगरबाट विद्युत् आपूर्ती हुने भएको र त्यसको दूरी लामो भएका कारण विद्युत् अनियमितता हुने गरेको भन्दै तारलगायतका अन्य समस्या समाधान गरी केही दिनमै समस्याको समाधान हुने आश्वासन दिएको प्रमुख विष्टले बताए ।
यसैगरी विष्ट काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई नेपालगन्ज भ्रमणको निम्तो दिएका छन् । मंगलबार मेयर विष्टले बालेन्द्रसँग भेटवार्ता गरी नेपालगन्ज आउने औपचारिक निम्तो दिएका हुन् ।
‘अवसर मिलाएर आउने वचन पनि प्राप्त भएको छ’, मेयर विष्टले भने, ‘दुई पक्षीय हितका छलफल सकिएपछि नेपालगन्ज आउने निम्तो दिइएको हो ।’ विष्टका अनुसार, सरसफाइमा दाताको खोजीमा काठमाडौंका मेयरले नेपालगन्जका लागि पनि सहयोगका लागि समन्वय गरिदिने वचन दिएका छन् ।
काठमाडौं जानुपूर्व विष्टले सत्तारुढ दल माओवादी केन्द्रका अध्यक्षसमेत रहेका पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि भेट गरेका छन् ।

….
बजेटका योजना लिएर राजधानी काठमाडौं जाँदै गरेका नगर प्रमुख विष्टले पार्टी प्रशिक्षणका लागि नेपालगन्ज हुँदै बर्दिया जान आएका माओवादी अध्यक्ष प्रचण्डसँग नेपालगन्ज विमानस्थलको विशिष्ट कक्षमा भेटघाट गरेका हुन् ।
अध्यक्ष प्रचण्डले विष्टसँग नेपालगन्जको बजेटका सन्दर्भमा आफूले अर्थमन्त्रीसँग कुरा गर्ने वचन दिएको र सत्तागठबन्धन आगामी निर्वाचनसम्मै जाने कुरामा विश्वास दिलाएका थिए ।
नगर प्रमुख विष्टका अनुसार, लामो समयदेखि सरकारको बजेट अभावमा रोकिएका विकास, निर्माणलाई तीव्रता दिन सरकारसँग सहयोग खोजिएको छ ।
‘त्यसका लागि प्रधानमन्त्रीदेखि योजना आयोगसम्म पुग्दैछु’, विष्टले भने, ‘नेपालगन्जका लागि सरकारले निरन्तर बजेट घटाउँदै लैजाँदा विकास निर्माणका काम हुन सक्ने क्षमता न्यून छ ।’
एशियाली विकास बैंकको सहयोग रोकिएपछि केन्द्र सरकार र आन्तरिक स्रोतबाट प्राप्त बजेटले नेपालगन्जलाई विकासको स्रोत धान्न सक्ने अवस्था नदेखिएकाले नगर प्रमुख विष्ट प्रधानमन्त्रीसँग सहयोग माग्न राजधानी पुगेका हुन् ।