लुम्बिनी प्रदेशको बजेट ४२ अर्ब ६३ करोड ५७ लाख
Wednesday, June 15th, 2022, 7:49 pm
Kalpristha
बुधबार सातैवटा प्रदेशले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि आफ्नो बजेट प्रस्ताव पेस गरेका छन् । जसमध्ये लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि प्रदेशसभा बैठकमा लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले ४२ अर्ब ६३ करोड ५७ लाखको बजेट प्रस्ताव गरेका हुन् ।
कुल विनियोजन बजेटमध्ये चालू खर्चतर्फ ३१.२६ प्रतिशत अर्थात १३ अर्ब ३२ करोड ७६ लाख ५२ हजार रुपैयाँ अनुमानित बजेट विनियोजना गरिएको छ । साथै पुँजीगत खर्चतर्फ तर्फ २४ अर्ब ४७ करोड ७० लाख ४८ हजार रुपैयाँ कूल बजेटको ५७.४१ प्रतिशत रहने बजेटमा अनुमान गरिएको छ ।
मन्त्री खड्काले वित्तीय समानीकरण अनुदान, समपूरक अनुदान, सशर्त अनुदान र विशेष अनुदान मार्फत स्थानीय तह वित्तीय हस्तान्तरणका लागि ४ अर्ब ८३ करोड १० लाख रुपैयाँ विनियोजन गरेका छन् । कुल बजेटमा वित्तीय हस्तान्तरणको अंश ११.३३ प्रतिशत रहने बजेटमा प्रस्ताव गरिएको छ ।
आगामी आर्थिक वर्षमा सञ्चालन हुने कार्यक्रमका लागि खर्च व्यहोर्ने स्रोत मध्ये आन्तरिक राजश्वबाट ३ अर्ब १० करोड ५९ लाख रुपैयाँ, संघ र स्थानीय सरकारबाट प्राप्त हुने राजश्व बाँडफाँटबाट १५ अर्ब ३५ करोड ३४ लाख रुपैयाँ, रोयल्टी बाँडफाँटबाट ७० करोड रुपैयाँ प्राप्त हुने बजेटमा अनुमान गरिएको छ । संघीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ८ अर्ब ५४ करोड १७ लाख रुपैयाँ, सशर्त अनुदानबाट ८ अर्ब ७१ करोड २२ लाख रुपैयाँ, समपूरक अनुदानबाट ७३ करोड ९० लाख रुपैयाँ, विशेष अनुदानबाट ४८ करोड ३५ लाख रुपैयाँ, चालू आर्थिक वर्षको बचत रकमबाट ४ अर्ब रुपैयाँ र आन्तरिक ऋणबाट १ अर्ब रुपैयाँ परिचालन हुने अनुमान गरिएको मन्त्री खड्काले बजेट वक्तव्य प्रस्ताव पेस गरेको छन् ।
त्यसैगरी प्रदेश १ सरकारले आगामी आर्थिक ३९ अर्ब ७३ करोड ८३ लाखको अनुमानित बजेट संसदमा प्रस्तुत गरेको छ ।
मधेश प्रदेश सरकारले अगामी आर्थिक वर्षको लागि ४६ अर्ब ८८ करोड ९ लाखका बजेट सार्वजनिक गरेको छ ।
वागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७९/०८० का लागि ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ ।
गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७९/०८० का लागि ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट ल्याएको छ ।
कणर्ाली प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०७९-०८० का लागि ३२ अर्ब ६१ करोड ६१ लाख ६३ हजार बराबरको बजेट ल्याएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि अनुमानित आय व्ययसहितको कूल ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजार रुपैयाँ बजेट ल्याएको छ ।