तेलकोे मूल्य लिटरमै ३० रुपैयाँले घट्यो
Thursday, June 16th, 2022, 7:29 pm
Kalpristha
रुस–युक्रेन युद्धका कारण महँगिएको खानेतेल लिटरमै ३० रुपैयाँले घटेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्न थालेपछि यहाँ मूल्य घटेको हो ।
एक महिना अघि सूर्यमुखी तेल कार्टुनमा ३३ सय देखि ३५ सय रुपैयाँ थियो । अहिले यो घटेर ३ हजारदेखि ३२ सय रुपैयाँमा आएको छ । भटमासको तेल कार्टुनको तीन हजार रुपैयाँदेखि ३२ सय रुपैयाँसम्म थियो ।
यो घटेर अहिले २८ सय रुपैयाँदेखि ३ हजार रुपैयाँसम्म आइपुगेको छ । सामाखुशीस्थित गोरखकाली स्टोर्सका कृष्ण भट्टका अनुसार सूर्यमुखी तेलको मूल्य लिटरको २ सय ८० रुपैयाँमा बिक्री भइरहेको छ । एक महिना अघि यो तेलको मूल्य लिटरको ३ सय १० रुपैयाँ थियो ।
उनले पछिल्लो समयमा तेलको आपूर्ति पनि सहज भएको बताउँदै मागेको बेलामा जति पनि तेल बिक्रेताले दिइरहेको जानकारी दिए । एकर दुई महिना अघिसम्म उद्योगले तेल नदिएको भन्दै थोक बिक्रेताले पनि मागे जति दिँदैन्थे । अहिले तेल चाहिन्छ भनेर सोधिरहेका छन् उनले भने, यो आधारमा तेलको मूल्य अझै घट्ने देख्छु ।
सीमावर्ती क्षेत्रमा भारतीय तेलको जगजगी
केएल दुगड समूहका प्रवन्ध निर्देशक दुगडका अनुसार अहिले सीमावर्ती क्षेत्रमा चोरीपैठारी आएको भारतीय तेलको जगजगी छ ।
भारतमा तोरीको तेलमा ४ प्रतिशत मात्रै जिएसटी छ । तर नेपालमा पाँच प्रतिशत भन्सार र १३ प्रतिशत भ्याट छ । १४ प्रतिशत सस्तो भारतीय तेल सहज रुपमा पाइरहेकोले नेपाली उत्पादन बिक्रीनै छैन ।
बजेटले भारतीय उत्पादनलाई सहज आउन दिन बाटो खुलेको बताए । तेल उद्योग बचाउने हो भने भारतको जस्तै भन्सार दर घटाउनुपथ्र्यो । तर कच्चा पदार्थमै १० प्रतिशत भन्सार छ, उनले भने, आगामी दिन तेल उद्योगका लागि अझै संकटमा लैजाने खालको छ ।