६६ घरपरिवारलाई लालपुर्जा वितरण
Thursday, June 16th, 2022, 8:37 pm
Kalpristha
कोहलपुर नगरपालिका वडा नम्बर २ का नेपालीया थरुनी, हरिसचन्द्र थारुलगायतका ६६ घरपरिवारको जीवन बिहीबार परिवर्तन भएको छ । उनीहरुको लालपुर्जा पाउने सपना पूरा भएको छ । कोहलपुर नगरपालिकाले वडा नम्बर २ बासिन्दालाई जग्गाको स्थायी लालपुर्जा वितरण गरेपछि उनीहरुको वडावासी प्रफुल्लित भएका छन् ।
नगरले वडा २ का ६६ परिवारलाई उनीहरूले भोगचलन गर्दै आएको जग्गाको पुर्जा वितरण गरेको हो ।
कोहलपुर नगरपालिकाअन्तर्गत साविक रझेना र चटारअन्तर्गतका वडाहरुमा रहेका गाँउ ब्लकका जग्गाहरुको पुर्जा वितरण गरिएको नगर उप–प्रमुख संगीता सुवेदीले जनाकारी गराइन् ।
नगर प्रमुख पूर्ण प्रसाद आचार्यले कोहलपुर नगरपालिकाले पहिलो चरणमा लामो समयदेखि जोतभोग गर्दै आएका जमिनहरुको नापी गरेर पुर्जा वितरण गर्ने कार्य भएको कालपृष्ठलाई बताए । उनले पहिलो चरणमा भूमिहीन र अव्यवस्थित बसोबास गर्दै आएकालाई लालपुर्जा वितरण गरेको बताए ।
उपप्रमुख सुवेदीले लामो समयदेखि उपभोग गर्दै आएको तर आफ्नो नाममा पुर्जा नहुँदा विभिन्न आर्थिक कारोबार गर्नबाट पछि परेका जनताको लागि पुर्जा पाउनु अत्यन्त राम्रो काम भएको बताइन् ।
कार्यक्रममा कोहलपुर नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष हरिसिंह कठायतले जनताले २०५५ सालदेखि लाजपुर्जाको प्रतिक्षा गरेर बसेको बताए ।
जिल्ला नापी कार्यालयका प्रमुख सहदेव सुवेदीले कोहलपुरका सबै वडाहरुमा क्रमिक रुपमा लालपुर्जा वितरण गरिने बताए ।
कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकाल, नेपाली कांग्रेस वडा नम्बर २ का सभापति यज्ञबहादुर महरा, वडा नम्बर २ का पूर्व वडा अध्यक्ष कृष्णबहादुर विसीलगायतको उपस्थिति रहेको थियो ।