गाभर भ्यालीमा २० हजार बिरुवा रोपिने
Thursday, June 16th, 2022, 8:45 pm
Kalpristha
गाभर भ्यालीमा २० हजार बिरुवा रोपिने भएको छ । आठौँ चुरे दिवसको अवसरमा बाँकेको गाभर भ्यालीमा वृक्षारोपण कार्यक्रमको सुरुवात गरिएको हो ।
लुम्बिनी प्रदेशका वन, वातावरण तथा भू–संरक्षणमन्त्री सुरेन्द्र हमालले वृक्षारोपण कार्यक्रमको उद्घाटन गरेका हुन् ।
गाभर भ्यालीमा राष्ट्रपति तराई मधेस चुरे संरक्षण कार्यक्रम कार्यान्वयन इकाई लम्कीले वृक्षारोपण कार्यक्रमको आयोजना गरेको थियो । उक्त अवसरमा बोल्दै मन्त्री हमालले चुरे संरक्षणमा सबैजनाले हातेमाले गर्नुपर्ने बताए ।
‘चुरेको विनाश हुन थाले तपाईं हामी कसैलाई राम्रो गर्दैन,’ उनले भने, ‘त्यसैले चुरे संरक्षणमा सबैजनाले आफ्नो ठाउँबाट भूमिका निभाउनुपर्छ ।’ प्रदेशमा रहेका चुरे संरक्षणका लागि आफ्नो मन्त्रालयले विभिन्न कार्यक्रम अगाडि सारेको मन्त्री हमालको दाबी छ ।
‘चुरे संरक्षणका लागि प्रदेश सरकार प्रतिबद्ध छ,’ उनले भने, ‘यसका लागि केही कार्यक्रमसमेत अगाडि सारिएको छ ।’ सामुदायिक गाभर भ्यालीका अध्यक्ष कृष्णलाल चौधरीले यो क्षेत्रमा करिब २० हजार बोटबिरुवा वृक्षारोपण गर्ने लक्ष्य राखिएको बताए ।
‘चुरे दिवसको अवसरमा हामीले यो क्षेत्रमा मात्रै २० हजार विभिन्न जातिका बिरुवा रोप्ने लक्ष्य राखेका छौं,’ उनले भने, ‘सोही कार्यक्रमअनुसार नै बिहीबार वृक्षारोपण कार्यक्रमको सुरुवात गरिएको हो ।’ असारको महिनामा मात्र पाँच लाख बोटबिरुवा रोपिने राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिले जनाएको छ ।