पहिलोपटक बुटवलमा चिया प्रदर्शनी हुँदै
Thursday, June 16th, 2022, 8:48 pm
Kalpristha
नेपाली चियाको प्रबद्र्धन गर्न भन्दै नेपालको चिया क्षेत्रमा काम गर्दै आएको सरकारी निकाय राष्ट्रिय चिया तथा कफी विकास बोर्डले नेपालमै पहिलो पटक बुटवलमा बृहत राष्ट्रिय चिया प्रदर्शनी आयोजना गर्ने भएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले बुटवलमा आयोजना गर्न थालेको बृहत राष्ट्रिय चिया प्रदर्शनीमा भाग लिन चिया उद्यमीहरु बुटवलमा भेला हुने भएका हुन् ।
चिया क्षेत्रमा क्रियाशील विभिन्न संघरसंस्थाहरु, एशोसिएशन लगायतसँगको सहकार्यमा बोर्डले भोलिबाट दुईदिन बृहत चिया प्रदर्शनी आयोजना गर्न लागेको हो ।
प्रदर्शनीकै पूर्वसंध्यामा बुटवलमा बोर्डले पत्रकार सम्मेलन गर्दै प्रदर्शनीको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । पत्रकार सम्मेलनमा बोल्दै बार्डका कार्यकारी निर्देशक डा. विष्णु प्रसाद भट्टराईले अन्तर्राष्ट्रिय जगतमा नेपाली चियाको माग धरै भए पनि नेपालमा चियाको महत्व बुझाउन प्रदर्शनी गर्न थालिएको बताए ।
नेपालमा पहिलो पटक आयोजना गर्न लागिएको राष्ट्रिय चिया प्रदर्शनी कार्यक्रममा नेपालको चियाका मुख्य जिल्लाहरु झापा, इलामदेखि पश्चिमसम्म उत्पादित चियाको प्रदर्शन हुनेछ । नेपालको चिया उत्पादन तथा बजारीकरणमा लामो समयदेखि कार्य गर्दै आएका निजी क्षेत्रका नेपाल टि एशोसिएशन, हिमालयन अर्थोडक्स टि प्रोड्युसर एशोसिएशन, नेपाल टि प्रोड्युसर एशोसिएशन, केन्द्रीय चिया सहकारी संघ, स्पेसियालिटि टि एशोसिएशन नेपालमा आवद्ध चियाका व्यवसायीहरुबाट उत्पादित चियाका ब्राण्डहरुको प्रदर्शनीमा मुख्य रुपमा सहभागिता रहने छ ।
कार्यक्रममा १०० भन्दा बढी चिया व्यवसायीहरुको सहभागिता रहने कार्यकारी निर्देशक पुरीले जानकारी दिए । नेपालको तराई क्षेत्रमा विशेष गरी झापा जिल्लामा सिटिसी चिया र पहाडी क्षेत्रमा अर्थोडक्स चिया अन्तर्गत विभिन्न प्रकारहरु चियाहरु बनाइने गरिन्छ । नेपाली चिया गुणस्तर र स्वादका हिसाबले विश्वमै उत्कृष्ट मानिन्छ ।
नेपालले अधिकांश उपभोग्य वस्तुहरू आयात गर्नुपरेको परिप्रेक्ष्यमा मुलुकलाई आवश्यक पर्ने चिया आफै उत्पादन गरी भारत लगायत अन्य तेस्रो मुलुकहरूमा समेत नेपाली चिया निर्यात भइरहेको छ । आर्थिक वर्ष २०७७/०७८ को तथ्यांक हेर्ने हो भने नेपालले तीन अर्ब ७९ करोड भन्दा बढी मूल्यको चिया निर्यात गरेको छ ।
नेपालमा चिया खाने प्रचलन निकै पुरानो हो । इलामका तत्कालीन बडाहाकिम गजराज सिंह थापाले १९२० सालमा इलाममा चिया रोपण गरेपछि नेपालमा चिया खेती सुरुवात भएको हो । नेपाली चियाको इतिहास १५० वर्ष भन्दा पुरानो रहेको छ ।
आर्थिक वर्ष २०७७/०७८ को तथ्याङ्क अनुसार नेपालमा १६ हजार ९१७ हेक्टरमा चिया रोपण भएको र २३ हजार ७४५ मेट्रिक टन तयारी चिया उत्पादन भएको छ । अहिले १६ हजार भन्दा बढी चिया कृषक र ६० हजार भन्दा बढी श्रमिकहरु चियाको विभिन्न मूल्य श्रृंखलामा संलग्न रहेका छन् ।