लीलाराज दाहालको तीन लघुकथा
Saturday, June 18th, 2022, 11:38 am
Kalpristha
मान्छेको स्तर
रामबहादुरको हैसियत सम्भ्रान्तको थियो । उ सानातिना गरीव मान्छेहरुलाई गन्दैनथ्यो । काठमाडौंको मुख्य सडकमा रहेको उसको साततले घरले उसको रवाफको आगोमा घीउ थपिरहेको थियो । उ आफू निकै ठूलो मान्छे भएको भ्रमको आसनमा बसिरहेको थियो । वल्लोपल्लो घरमा विहावारी, मरन पर्दा समेत उ जादैनथ्यो । यस्तो सोचेर कि त्यहाँ जान उसको हैसियत मिल्दैन । उ टोलमा आफूलाई एक्लो धनिको रुपमा प्रस्तुत गरेर वाँिचरहेको थियो ।
एकदिन अकस्मात्ठूलो भूकम्प आयो । भूकम्पको धक्काले उस्को घर गर्लामगुर्लुम ढल्यो । हेर्दाहेर्दै उस्लाई इज्जतको सोफामा बसाईरहेको घर माटोमै मिल्न पुग्यो । अब उ निमेष भरमै करोडपतिबाट रोडपतिको अवस्थामा आइपुग्यो । परापूर्वदेखि सानो छाप्रोमा बसिरहेका श्यामकृष्णको टिनको छाप्रो छेउमा उस्को पाल टाँगियो । घर भत्किएको भग्नावशेषमा रहेको सिमेन्ट र इँटको थुप्रोमा पाल टाँग्न पनि मिलेन । घरबाट प्राप्त हुने बहालले उस्को इज्जतको जुँगा ठडिएका थिए । अव ती पनि लत्रिए ।
रामबहादुरको पाल किन्ने सम्मको हैसियत बाँकी रहेन । घरमा भएका वैंकका चेक, नगद, गरगहना आदि घरको खण्डहरमा पुरिएका थिए । सरकारले वितरण गरेको पाल र राहत रकमले उस्ले घरव्यवहारको जाँतो घुमाउन थालेको थियो ।
उ ओठमा मौनताको ताल्चा झुण्ड्याएर आफ्नो भत्किएको घरतिर हेर्न थाल्यो । उसको अनुहारमा पश्चातापको लहर सल्वलाइरहेको थियो ।उस्का आँखाबाट झरेको आँशुलाई श्यामकृष्णको ओठको मुस्कानले जिस्क्याइरहेको थियो ।
पटकपटक उस्ले आफूलाई माग्ने भनेको श्यामकृष्णले बिर्सेका थिएनन् । एक दिन ख्यालख्यालमा श्याम कृष्णले उसलाई हेरेर भने, ॅअब भने हाम्रोस्तर मिल्यो है !’
माया
कृष्णबहादुर सानैदेखि उत्ताउलो बालक नभए पनि उमेरको सिंढी चढ्दै जाँदा उसमा चन्चलताको रस भरिंदै आएको थियो । उसको बदलिंदै गएको बानीबाट सशंकित उसका बाबुआमाले तत्काल उसको बिहे गराई दिए । बाइस बर्षे उमेरमा उ बेहुलो बनेको थियो ।
बिबाहपछि केही समय उसको मन स्थिर रहे पनि पछि उ पुरानै बानीको लिकमा हिँड्न थाल्यो । पांच बर्षको अन्तरालमा उ दुई छोरी र एक छोराको बाबु भयो । घरायसी काम धन्दा र छोराछोरीको पालन पोषणको चिन्ताले कृष्णबहादुरकी श्रीमती असमयमै बुढी जस्ती देखिन थाली। चिन्तारहित उभने दिनानुदिन जवान देखिन थालेको थियो ।
पहिले कस्तो राम्रो जोडी भनेर तारिफ गर्ने साथीहरु अव कस्तो नमिलेको जोडी भनेर उसलाई उडाउन थालेका थिए । अब त उसले श्रीमतीतिर ध्यान दिनै छोड्यो । नयाँ नयाँ युवतीहरुलाई मायाको जालमा पार्न उ कस्सिएर लागेको थियो । अव उसको दिन यस्तै यस्तै काममा बित्न थालेको थियो । क्याम्पस पढ्ने युवती , विदेश गएकाहरुका श्रीमतीहरुको परिक्रमा गरेर उ आनन्द प्राप्त गर्न थाल्यो । फेसबुकमा युवतीहरुसंग घन्टौं च्याटमा रहनु , बाइकको पछाडि युवती राखेर पार्क पार्क डुल्नु उसको अचेल प्रमुख काम हुन थालेको थियो ।
पतिको आफूप्रतिको विकर्षण र बानी व्यवहारबाट वाक्क दिक्क भएकी श्रीमतीले एकदिन उसलाई केरकार गर्न थाली ।
अब उसले श्रीमतीलाई साँच्चै माया गरेको अभिनय गरिरहेको थियो । अझै बिश्वास दिलाउन उसले श्रीमतीलाई नयाँ कपडा लगाउन भन्यो । नयाँ कपडा लगाएर , शृंगार गरेर बाहिर आँगनमा निस्केकी श्रीमतीको नजिकै पुग्यो उ । पल्लो घरको भाइलाई डाक्यो र आफ्नो हातको मोबाइलको क्यामेरा ठिक्क पारेर उसको हातमा थमाएर आफु भने श्रीमतीलाई अँगालो मारेर मुसुक्क हाँस्यो ।
अघि खिचेका फोटाहरु देखाउन उसले श्रीमतीलाई बोलायो । श्रीमती नजिकै के आइपुगेकी थिई , उसले फेसबुकमा श्रीमतीले देख्ने गरी केही लेख्यो र भर्खर खिचेका फोटाहरु भटाभट पोस्ट गर्न थाल्यो ।
सजाय
वनमा बसोबास गर्ने सकल प्रजातिका वन्यजीवजन्तुहरुले सिंहको अध्यक्षतामा भेला आयोजना गरे ।
समसामयिक समस्याहरुका बारेमा छलफल गर्न भेलाको आयोजना भएको थियो । सिंहले आ-आफ्ना गुनासो र समस्या खुलस्तसँग राख्न आव्हान गर्यो ।
एउटी बाख्रीले भनी ॅहुन त म घर पालुवा स्त्री जनावर हुँ । तपाईहरुको राज्यमा चर्न भनेर आएकी थिएँ । उ त्यो उन्मत्त पुरुष जनावरले मलाई बलत्कार गर्यो । म अन्यायमा परेँ । क्षतिपूर्ति सहितको न्याय चाहियो ।’
लगत्तै एउटा स्यालले भन्यो ॅमेरै जातिको धूर्त स्यालले मेरो छोराको अपहरण गर्यो । उसले फिरौती मागेको छ ।’
यत्तिकैमा फेरि अर्को हरिण उभियो र आफ्नो कुरा भन्न थाल्यो ॅउ त्यो छट्टुले मेरो छोरालाई अर्को राज्यमा वैदेशिक रोजगारीमा पठाई दिन्छु भनेर परिपञ्च गर्यो । लोभ देखाएर ठगी गर्यो । साह्रै अन्यायमा परियो ।’
यसैगरी अन्यले पनि हत्या, आतंक, चोरी तस्करी, वातावरण प्रदुषणलगायतका समस्याहरुको उठान गरे ।
सबैको कुरा सुनिसकेर सिंहले एकपटक टाउको हल्लायो ।
सबैको ध्यान सिंहतिर गएको थियो । सिंहबाट हुने निणर्यको पर्खाइमा थिए सबै ।
अन्तमा सिंहले ती पीडकतिर हेरेर गम्भिरतापूर्वक भन्यो ॅतिमीहरुले अपराधबमोजिमको सजाय त पाउँछौ नै ! त्योभन्दा ठूलो कुरा मानिसको बानी, व्यहोराको सिको गरेकोमा पहिला तिमीहरुलाई दण्ड दिने घोषणा गर्दछु ।’
जनावरहरु यतिखेर भने केही बोल्न सकेनन् ।
कर्मैया, सर्लाही