सुस्त मनस्थितिका किशोरीमाथि सामूहिक बलात्कार
Saturday, June 18th, 2022, 5:07 pm
Kalpristha
दाङमा एक सुस्त मनस्थिति भएकी युवतीमाथि सामूहिक बलात्कार भएको छ । जिल्लाको तुलसीपुर उपमहानगरपालिका –५ निवासी २५ वर्षीया युवतीमाथि असार २ गते राति सामूहिक बलात्कार भएको घट्ना बाहिरिएको छ ।
ती युवतीमाथि तुलसीपुर उपमहानगरपालिका –९ दोघरेस्थित एक निर्माणाधीन घरमा रातको समयमा चारजनाले सामूहिक बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एवम् एसपी सुरेशप्रसाद काफ्लेले जानकारी दिए ।
उनका अनुसार आरोपितमध्ये तुलसीपुर उप–महानगरपालिका–९, दोघरे निवासी २४ वर्षीय शंकर बिक र २३ वर्षीय कमल चौधरी पक्राउ परेका छन् भने अन्य दुईजना फरार छन् ।
‘असार २ गते रातको समयमा तुलसीपुरस्थित दोघरेमा एक युवतीमाथि सामूहिक बलात्कार भएको रहेछ’, जिल्ला प्रहरी प्रमुख एपपी काफ्लेले भने । प्रहरी प्रमुख काफ्लेका अनुसार पीडित युवतीलाई ललाई फकाई गरेर बलात्कार गरिएको घटना बाहिर आएको छ ।
पीडितको तर्फबाट आफन्तले चार जनाविरुद्ध ईलाका प्रहरी कार्यालय तुलसीपुरमा शुक्रबार किटानी जाहेरी दिएपछि प्रहरीले आरोपितलाई खोजी गर्ने क्रममा चौधरी र बिकलाई पक्राउ गरेको प्रहरी प्रमुख काफ्लेले बताए ।
सुस्त मनस्थितिका युवतीमाथि सामूहिक बलात्कारमा संलग्न सबैबिरुद्ध सामूहिक बलात्कार अभियोगमा मुद्दा चलाएर कानुनी कारबाहीको प्रक्रिया अघि बढाउने तयारी गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
प्रहरी प्रमुख काफ्लेका अनुसार फरार अभियुक्तलाई खोजीसँगै घटनाबारे अनुसन्धान भई रहेको छ ।