राप्ती सोनारीको गाउँसभाको तयारी अन्यौलमा
Saturday, June 18th, 2022, 8:10 pm
Kalpristha
राप्ती सोनारी गाउँपालिकाको गाउँसभाको तयारी अन्यौलमा रहेको छ । कार्यपालिका (बोर्ड) बैठक अनिश्चित बनेपछि गाउँसभाको तयारी अन्यौलमा परेको हो ।
गाउँपालिकाको बिहीबार तय गरिएको बैठकमा नेकपा एमालेका जनप्रतिनिधि अनुपस्थित भएर बहिष्कार गरेका थिए ।
गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलका अनुसार उक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेटबारे छलफल, आन्तरिक आम्दानी, नदीजन्य पदार्थ अवैध उत्खनन नियन्त्रण, आगामी वर्षको योजना तथा कार्यक्रम तय लगायत विषयमा ब्यापक छलफल गर्ने एजेण्डा थियो । तर, एमालेका कार्यपालिका सदस्य एक्कासी अनुपस्थित हुँदा बैठक नै बस्न सकेन ।
‘गाउँपालिकाको यो बैठक निकै महत्वपूर्ण हो, एमालेका साथीहरु बैठकमा आउनु नै भएन, त्यसकारण बैठक बस्न सकेन,’ उनले भने । स्थगित भएको गाउँ कार्यपालिकाको बैठक अहिलेसम्म अनिश्चित बन्न पुगेको कार्यपालिकाका एक सदस्यले बताए ।
‘कार्यपालिका बैठक अहिलेसम्म अनिश्चित नै छ, कार्यपालिका बैठक बस्न नसक्दा आसन्न गाउँसभाको तयारी पनि अन्यौलमा छ,’ तर एमालेका साथीहरुसँग सहमतीको प्रयास जारी छ,’ ती सदस्यले भने । गाउँपालिकाले आगामी वर्षको बजेट ल्याउने तयारी गरिरहँदा कार्यपालिका बैठक बस्न नसकेपछि जनतामा त्यसको नकारात्मक सन्देश गएको उनले सुनाए ।
कुल १७ सदस्यीय रहेको गाउँ कार्यपालिकामा नेकपा एमालेका ११ जना सदस्य छन् । यस्तै नेकपा (माओवादी केन्द्र) का ३, नेपाली कांग्रेसका २ र राप्रपाका १ जना सदस्य रहेका छन् ।
पालिकाले गत जेठ २३ गते बसेको गाउँकार्यपालिका बैठकले सर्बसम्मत रुपमा विषयगत समितिहरु बनाउने निर्णय गरेको थियो । उक्त बैठकले गरेको निर्णय सच्याउन एमालेका कार्यपालिका सदस्यले अहिले माग गरेका छन् ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले कार्यपालिका बैठक बस्न नसक्दा महत्वपूर्ण विषयमा छलफल हुन नसकेको बताए ।