सामाजिक सद्भावका लागि ऐक्यवद्धता जनाइयो
Saturday, June 18th, 2022, 8:14 pm
Kalpristha
शनिबार नेपालगन्जमा सामाजिक सद्भावका लागि सामूहिक ऐक्यवद्धता गरिएको छ । गैर सरकारी संस्था महासँघ नेपाल बाँके शाखा, बास नेपाललगायत संस्थाहरुको संयुक्त आयोजनामा भएको कार्यक्रममा नेपालगन्जस्थित विभिन्न धर्मका धर्मगुरु, सामाजिक अभियन्ता, विभिन्न पेशा व्यवसायी, संघ–संस्थाका प्रतिनिधिले ऐक्यवद्धता जनाएका हुन् ।
पछिल्लो समय राजेश जालानका कारण सामाजिक सद्भाव खलबलिन थालेको भन्दै नागरिक समाजका तर्फबाट सामाजिक सद्भाव कायम राख्न नेपालगन्जको वीपी चौकमा ऐक्यबद्धता कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रममा बोल्दै अन्तर धार्मिक तथा सामाजिक सद्भाव मञ्चका संयोजक तथा बागेश्वरी मन्दिरका मूल महन्त चन्द्रनाथ योगीले सामाजिक सद्भावको नमुना शहर नेपालगन्जमा कसैले पनि सद्भाव खल्बल्याउन नसक्ने बताए । कुनै एउटा धर्मका व्यक्तिलाई अप्ठेरो पर्दा अन्य सबै धर्मका व्यक्तिहरु एकजुट भएर सहयोग र समर्थन गर्ने सद्भावको बेजोड नमुना नेपालगन्जमा रहेको उनको भनाइ थियो ।
योगीले मोहम्मदका विरुद्धमा बोलेका व्यक्तिलाई कानुन बमोजिम कारबाही गर्न प्रशासनलाई अपिल गरे । उनले सबै धर्मगरुहरुको तर्फबाट आम नागरिकहरुलाई सामाजिक सद्भाव खलबलिने कुनै पनि काम नगर्न अपिल गरे ।
कार्यक्रममा बोल्दै मुस्लिम धर्मगुरु मौलाना जब्बार मन्जरीले कसैले सद्भाव खल्बल्याउन खोज्दैमा सद्भाव नखल्बलीने बताए । उनले सबैलाई हल्लाको पछि नलाग्न अपिल गरे । नेपालगन्जको सद्भावलाई बिथोल्न खोज्ने जालानलाई कानुनी कारबाही हुनुपर्ने धारणा मन्जरीले राखेका थिए ।
यस्तै मानव अधिकार संरक्षण तथा प्रवद्र्धन केन्द्रका केन्द्रीय अध्यक्ष आलम खानले बहुजाति बहुसांस्कृतिक र बहुधार्मिक आस्था केन्द्रका रूपमा विशाल छवि भएको नेपालगन्जको पहिचान देशमा मात्र नभएर विश्व भरि रहेको बताए । उनले पहिचानलाई मेटाउन खोज्ने हो कोहीलाई पनि कारवाही दायरामा ल्याउनु पर्नेमा जोड दिए ।
गैर सरकारी संस्था महासँघ नेपाल बाँके शाखाका अध्यक्ष तथा बासका कार्यकारी निर्देशक नमस्कार शाहले कार्यक्रममा स्वागत गर्दै कार्यक्रमको उद्देश्य माथि प्रकाश पारेका थिए । शाहले पछिल्ला केही दिन यता सामाजिक सद्भाव खल्बल्याउन भई रहेका गतिविधिहरुलाई निष्तेज पार्न कार्यक्रमको आयोजना गरिएको बताए ।
कार्यक्रममा नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर १२ का अध्यक्ष तरुण बज्राचार्य, नेपाल उद्योग वाणिज्य महासँघका पूर्वकेन्द्रीय सदस्य कृष्ण प्रशाद श्रेष्ठ, नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिब चिरञ्जिवी वली, हरित अभियन्ता हेमन्तराज काफ्ले, नेपालगन्ज उप–महानगरपालिकामा वडा नम्बर ४ का निर्वतमान अध्यक्ष सफिक बेहना, रमेश राज रेग्मीलगायतले मन्तब्यसहित ऐक्यबद्धता जनाएका थिए ।