‘निर्वाचनमा एमालेमाथि ठाडो हस्तक्षेप गरियो’
Sunday, June 19th, 2022, 5:10 pm
Kalpristha
आसन्न वैशाख ३० गते सम्पन्न भएको बाँके जिल्लाको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेमाथि हस्तक्षेप भएको एमाले जिल्ला कमिटी बाँकेले जनाएको छ । आइतबार नेपालगन्जस्थित एमाले पार्टी कार्यालयमा गरिएको पत्रकार सम्मेलनमा एमाले जिल्ला कमिटी बाँकेका अध्यक्ष किस्मतकुमार कक्षपतिले जिल्लाका प्रमुख निर्वाचन अधिकृत, जिल्ला प्रहरी प्रमुखलगायत राज्यका निकायबाट ठाडो हस्तक्षेप गरिएको बताए ।
अध्यक्ष कक्षपतिले स्थानीय निर्वाचनमा जिल्ला प्रहरीद्वारा बाँकेका विभिन्न स्थानमा एमालेका उम्मेदवारलाई धम्क्याउने, बन्देज लगाउने कार्य भएको बताए । उनले भने, ‘जानकी गाउँपालिकाको वडा नम्बर १ मा एमालेका उम्मेदवारलाई घरमै गई प्रहरीले विभिन्न बाहनाबाजीमा धम्क्याउने गरेको थियो । जानकीमा एमालेका अध्यक्ष र उपाध्यक्षलाई मदतान केन्द्रमा म स्वयम् उपस्थिति हुँदा पनि पस्न दिइएन ।’
कक्षपतिले नेपालगन्ज उप-महानगरपालिका वडा नम्बर ८ मा एमालेका उम्मेदवारले ८ सय मतले जित्दा पनि ८ घण्टासम्म घोषण नगरिएको बताए । जुन विषयमा जिल्ला प्रशासन कार्यालयसँग कुरा गर्दा पनि वास्ता नगरिएको उनको भनाइ छ ।
त्यस्तै कक्षपतिले खजुरा गाउँपालिकाको वडा नम्बर ४ मा एमालेका उम्मेदवारले वडा अध्यक्षमा विजयी हुँदासमेत हराइएको आरोप लगाएका छन् । साथै कक्षपतिले प्रशासनको संरक्षणमा एमाले पार्टीका कार्यकर्तालाई कुटपिटर भुट्टा मुद्दा लगाउने कार्य भएको पनि जनाए ।
कार्यक्रममा यस्ता प्रकारका कार्य नगर्न र न्यायका लागि जनतालाई दुःख दिने काम बन्द गर्न माग गरिएको कक्षपतिले जनाए ।
त्यसैगरी कार्यक्रममा किसानका लागि तत्काल सस्तो र सहजरुपमा धानको बीउ उपलब्ध गराउन स्थानीय निकाय र सरोकारवालासँग माग गरिएको छ ।
त्यस्तै कृषि सिँचाइका लागि नियमित विद्युत् आपूर्ति, अघोषित लोडसेटिङको बन्द, मनपरी तथा स्वइच्छाचारी र अस्वभाविक मूल्यवेद्धि फिर्ता लिनुपर्ने कक्षपतिले माग गरेका छन् ।
कार्यक्रममा एसपिपि सम्झौता कनै पनि हालतमा अनुमोदन गर्न नहुने जनाइएको छ । कक्षपतिले नेपाललाई प्रत्यक्ष रुपमा हस्तक्षेप हुनेगरी उक्त सम्झौता अनुमोदन गर्न नहुने बताएका हुन् ।
त्यसैगरी कार्यक्रममा अर्थमन्त्रीको राजीनामा माग गरिएको छ । कक्षपतिले गैरजिम्मेवार अर्थमन्त्रीको प्रत्यक्ष निर्देशनमा बजेट जस्तो सम्वेदनशील कुरामा अनाधिकृत व्यक्तिलाई बजेट निर्माण र करका दायरालगायतका विषयमा गरिएको हेरफेरको यथार्थ सार्वजनिक गरी अर्थमन्त्रीको तत्काल राजीनामा माग गरिएको बताए ।