विद्युत् नियमित गर्न तालाबन्दी
Sunday, June 19th, 2022, 8:30 pm
Kalpristha
दाङको तुलसिपुरमा रहेको विद्युत् प्राधिकरण वितरण केन्द्रमा तालाबन्दी गरिएको थियो । आइतबार स्थानीयले विद्युत नियमित नभएको भन्दै वितरण केन्द्रमा तालाबन्दी लगाएका हुन् ।
पछिल्लो समय तुलसीपुर क्षेत्रमा विद्युत् अनियमित हुँदा समस्या भएको र मागबारे कुनै सुनुवाई नभएको स्थानीय बताउँछन् ।
अनियमित हुने विद्युत् रोक्नुपर्ने माग राख्दै विद्युत् प्राधिकरण वितरण केन्द्र तुलसीपुरमा तालबन्दी गरिएपछि विद्युत्का कर्मचारीसहित उद्योग वाणिज्य संघ तुलसिपुरको टोली पनि कार्यालयभित्रै थुनिएका थिए । संघका पदाधिकारी विद्युतका लागि ध्यानाकर्षणपत्र बुझाउन वितरण केन्द्र पुगेका थिए ।
स्थानीय युवा बसन्त गिरीको नेतृत्वमा विद्युत् प्राधिकरण वितरण केन्द्र तुलसीपुरमा तालाबन्दी गरिएको हो । बिहान कार्यालयमा पुगेका स्थानीयले तालाबन्दी गरेका हुन् ।
विद्युत् कार्यालयको चरम लापरबाहिका विरुद्ध तालाबन्दी गरिएको गिरीले बताए । मागका विषयमा गम्भिर नहुँदासम्म तालाबन्दी जारी रहने उनले बताए ।
विद्युत्को अघोषित लोड सेडिङका कारण ताला गर्न बाध्य भएको अर्का स्थानीय ईश्वरीप्रसाद गैरेले बताए । उनले विद्युत्को कार्यालयको चरम लापरबाहिका कारण विद्युतिय उपकरणमा समस्या आएको बताए ।
विद्युत कार्यालयमा विद्युत नियमितताको मागसहित स्थानीयको भिड लागेको छ भने कार्यालयका कर्मचारी भित्रै थुनिएका थिए ।
यसैबीच विद्युत् नियमित हुनुपर्ने मागसहित तुलसीपुर उद्योग वाणिज्य संघले कार्यालय प्रमुख ज्ञानबहादुर फर्साललाई ध्यानाकर्षण पत्र बुझाएका छन् । संघका अध्यक्ष रामप्रसाद चालिसे प्रमुख फर्साललाई ध्यानाकर्षणपत्र बुझाएका हुन् ।