विद्युतको समस्या बोकेर केन्द्र पुगे गौडेल
Sunday, June 19th, 2022, 8:38 pm
Kalpristha
बाँकेमा भई रहेको विद्युत् अनियमितताबारे ध्यानाकर्षण गराउन नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय कार्यालय पुगेका छन्, नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेल ।
आइतबार गौडेलसहित कांग्रेस बाँकेको टोलीले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई भेटेर नेपालगन्जमा भएको विद्युत् अनियमितताका बारेमा जानकारी गराएको छ । कांग्रेस टोलीले निर्देशक घिसिङलाई भेटेर ध्यानाकर्षण गराएको हो ।
जिल्ला सभापति गौडेल नेतृत्वको टोलीले बाँकेमा उत्पन्न विद्युत् अनियमितताबारे ध्यानाकर्षण गराएपछि घिसिङले बाँके जिल्लामा उत्पन्न विद्युत् समस्या समाधानका लागि आफू गम्भिर रहेको बताएका छन् । घिसिङले ‘बाँके जिल्लाको विद्युत् समस्याबारे म गम्भिर छु, यो समस्या छिट्टै समाधान गर्ने प्रतिवद्धता व्यक्त गर्दछु’ बताए ।
ध्यानाकर्षण पत्र बुझाउन सभापति गौडेल, जिल्ला कोषाध्यक्ष यज्ञबहादुर बस्नेत, सदस्य मनप्रसाद अचार्य, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवम् कांग्रेस नेता चक्र अधिकारी प्राधिकरणको केन्द्रीय कार्यालयमा पुगेका हुन् ।
यसअघि पनि नेपालगन्ज उप–महानगरपालिकाका प्रमुख प्रशान्त विष्टले घिसिङलाई भेटेर नेपालगन्जमा देखिएको विद्युत्का समस्याका बारेमा ध्यानाकर्षण गराएका थिए ।