नेपालगन्जले आर्थिक विकास योजना बनाउँदै
Sunday, June 19th, 2022, 8:41 pm
Kalpristha
नेपालगन्ज उप–महानगरपालिका आर्थिक विकासका लागि योजना निर्माणमा जुटेको छ । आर्थिक क्षेत्रसँग सरोकार राख्ने विभिन्न संघ–संस्थाका प्रतिनिधिसहित आइतबार आर्थिक विकास रणनीति तर्जुमा सम्बन्धि प्रारम्भिक कार्यशाला गरिएको हो ।
सो कार्यक्रममा नेपालगन्ज उप–महानगरपालिकाका प्रमुख प्रशान्त विष्टले सधैभरी आर्थिक श्रोतका लागि संघ र प्रदेशको मुख ताकेर बस्नुपर्ने अवस्थाको अन्त्य गर्नका लागि स्थानीय आवश्यकताका आधारमा योजना बनाएर आर्थिक गतिविधिमा केन्द्रीत हुनुपर्नेमा जोड दिएका छन् ।
‘अबदेखि नेपालगन्जमा रणनीतिक र योजनावद्ध हिसाबले काम अघि बढाइने छ,’ नगर प्रमुख विष्टले भने, ‘नेपालगन्ज आर्थिक नगरी भएका कारण यसले आर्थिक पाटोलाई मुख्य प्राथमिकता दिने गरेको छ ।’
नगर प्रमुख विष्टले नेपालगन्जमा हुने आर्थिक गतिविधिले समग्र प्रदेशलाई लाभ पुग्ने भन्दै यहाँ हुने आर्थिक क्रियाकलाप अनिवार्य उप–महानगरपालिकामा अभिलेखीकरण हुनुपर्नेमा जोड दिए ।
प्रमुख प्रशासकीय अधिकृत जगत बसनेतले आगामी आर्थिक वर्षको बार्षिक नीति तथा कार्यक्रम र बजेट निर्माणको क्रममा रहेको अवस्थामा आर्थिक क्षेत्रका सरोकारवालासँग आर्थिक विषयमा छलफल हुनु आफैंमा महत्वपूर्ण उपलब्धी भएको कार्यक्रममा बताए ।
कार्यक्रमका अध्यक्ष तथा आर्थिक विकास समितिका संयोजक एवम् वडा नम्बर ४ का वडा अध्यक्ष गोपाल पुनले आर्थिक क्षेत्र विकासको मेरुदण्ड भएको भन्दै अहिले बनाइने योजना सहज कार्यान्वयन हुनेखालका हुनुपर्ने बताए ।
कार्यक्रममा नेपालगन्ज उप–महानगरपालिका सामाजिक विकास शाखा प्रमुख कृष्णप्रसाद जोशी नेतृत्वको कार्यदलले तयार पारेको आर्थिक विकास रणनीति सम्बन्धि प्रारम्भिक मस्यौदामा अन्तरक्रियात्मक छलफल भएको थियो ।