इन्धनमा भारी मूल्यवृद्धि, निगम भने ४ अर्ब घाटामा
Monday, June 20th, 2022, 4:57 pm
Kalpristha
नेपाल आयल निगमले आइतबार राती १२ बजेदेखि लागू हुनेगरी इन्धनमा भारी मूल्यवृद्धि गरेको छ । यसअघि गत विहीबार निगमलाई डिजेल र पेट्रोलमा उच्च वृद्धिसहितको इन्धनको नयाँ मूल्य सूची भएअनुसार मूल्यवृद्धि भएको छ । तर निगमले भने ४ अर्ब घाटामा रहेको विज्ञप्ति निकालेको छ ।
भारतीय आयल निगम (आईओसी) ले पठाएको नयाँ मूल्य सूचीअनुसार पेट्रोलको लागत लिटरमै २ सय ९ रुपैयाँ २८ पैसा, डिजेलको लागत मूल्य २०२ रुपैयाँ १६ पैसा, मट्टितेलमा १ सय ४७ रुपैयाँ ९९ पैसा र खाना पकाउने ग्याँसको लागत २५ सय ५१ रुपैयाँ १५ पैसा पुगेको थियो ।
सोही अनुसार निगमले पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँ वृद्धि गरेको छ भने डिजेलमा २७ रुपैयाँ, हवाई इन्धनमा १९ रुपैयाँ बढेको हो ।
बढेको मूल्य अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ सय ९९ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ सय ९२ रुपैयाँ र हवाई इन्धनको मूल्यमा प्रतिलिटर १ सय ८५ रुपैयाँ पुगेको छ ।
यसरी मूल्यमा भारीवृद्धि गर्दा पनि नि निगमले आउँदो एक महिनामा कूल ४ अर्ब ७० करोड नोक्सानी रहने अनुमान गरेको छ । योमध्ये खाना पकाउने एलपी ग्यासबाट सबैभन्दा धेरै २ अर्ब २८ करोड नोक्सानी पर्ने निगमले विज्ञप्ति उल्लेख गरिएको छ ।
खाना पकाउने ग्यासमा हाल प्रतिसिलिण्डर ७ सय ५१ रुपैयाँ नोक्सानी रहेको निगमले जनाएको छ । त्यस्तै अब पेट्रोलमा प्रतिलिटर १३ रुपैयाँ ५८ पैसा, डिजेलमा १३ रुपैयाँ ९५ पैसा नोक्सानी रहेको निगमको भनाइ छ ।
मट्टितेलमा प्रतिलिटर ४३ रुपैयाँ तथा हवाई इन्धनमा (आन्तरिक) १३ रुपैयाँ ६१ पैसा र वाह्य हवाई इन्धनमा ५६ रुपैयाँ ६७ पैसा नाफा छ । निगमले पेट्रोलियम पदार्थको खपत सकेसम्म कम गर्न पनि आग्रह गरेको छ ।