व्यवसाय सिक्न चोकचोकमा विद्यार्थी
Monday, June 20th, 2022, 9:16 pm
Kalpristha
घोराहीका विभिन्न चोक सँगसँगै कुनै चोकमा पानीपुरी, कुनैमा मकै, कुनैमा खरबुजा, कुनैमा लस्सीको व्यापार गरेको देख्न सकिन्थ्यो । कसैले ग्राहक बोलाउन व्यस्त थिए त कसैले हिसाव गरिरहेका थिए ।
त्यो कुनै वास्तविक व्यापारी नभएर घोराहीमा रहेको गुरुकुल एकेडेमीले पढाईसँगै व्यवहारिक शिक्षा दिनेगरी प्रयोगात्मक कक्षाको व्यवसाय थियो । २०७२ सालबाट सञ्चालनमा आएको गुरुकुल एकेडेमीले सुरुवातबाट नै आफ्नो विद्यार्थीहरुलाई यस्ता अतिरिक्त क्रियाकलापमा सहभागी गराउँदै आएको छ ।
शिक्षामा पढाईले मात्र वास्तविक जीवनमा भोगिने कुराहरुलाई नसिकाउने भएकाले प्रयोगात्मक रुपमा यसका काम गरी व्यवहारमा उतार्ने उद्देश्यका साथ बजारका विभिन्न चोकमा विभिन्न व्यवसाय गरिएको विद्यार्थीहरुले बताएका छन् ।
कक्षा ११ व्यवस्थापन संकायमा अध्यनरत ३९ जना विद्यार्थीहरु यो क्रियाकलापमा सहभागी भएका थिए । विद्यार्थीले आफ्नै लगानीमा यो व्यवसाय सञ्चालन गरेका हुन् । जसबाट फाइदा आएको रकम कुनै सामाजिक कार्यमा लगाउने उनीहरुले बताएका छन् ।
व्यवसायबाट आएको फाइदा रकम एक कार्यक्रम गरी कुनै सामाजिक कार्यमा लगाउने विद्यालयका प्रवक्ता तथा नेपाली विषयका विभागीय प्रमुख विवेक देवकोटाले जानकारी दिए । गुरुकुल एकेडेमीका विद्यार्थीहरुले उत्पादन गरेका विभिन्न प्रकारका खाने कुराहरु ग्राहकहरुले पनि उत्तिकै मन पराएका छन् ।
ग्राहक सुनिता बुढाले लस्सी खाँदै विद्यार्थीहरुले गरेको कामको प्रशंसा गरेकी थिइन् । चोकमा यस्तो व्यवसाय गर्दा विभिन्न मानिसहरुलाई लाज लाग्ने प्रवृत्ति भएको हँुदा यो कामले अन्य मानिसहरुलाई पनि व्यवसायमा प्रेरणा मिल्ने बुढाको भनाइ रहेको छ ।
गुरुकुल एकेडेमीमा अध्यनरत विद्यार्थीहरुको यो क्रियाकलापप्रति अभिभावकहरु पनि निकै उत्साहित भएको देखिन्थे । विद्यार्थीको यो व्यवसाय गर्ने कला र उनीहरुको कामप्रति विद्यालय पनि निकै खुसी भएको छ ।
शिक्षासँगै व्यावहारिक ज्ञान प्रदान गर्ने यो प्रयोगात्मक कक्षामा आफूहरु सफल भएको र जुन उद्देश्य लिएर काम गरिएको थियो, त्यो पूरा भएको विद्यालयका व्यवस्थापन संकायका प्रमुख कृष्णदेव थापाले बताए ।
पढाईपछि भविष्यमा सबै विद्यार्थीहरु केही न केही व्यवसायमा लाग्ने भएको हुँदा र कुनै विद्यार्थीहरु व्यापारमा पनि लाग्ने भएको हुँदा व्यापारमा नाफा–घाटा कसरी हुन्छ र लगानी कसरी गर्ने र कसरी सफलता प्राप्त गर्ने भन्ने कुरालाई जानकारी मिलोस भनेर यो व्यवसायको प्रयोगात्मक शिक्षा दिइएको विद्यालयका प्लस–टु प्रमुख निमानन्द गैरेले बताए ।
सैद्धान्तिक शिक्षासँगै व्यावहारिक शिक्षाको आवश्यकता रहेको गैरेको भनाइ छ । आगामी दिनमा पनि यस्ता क्रियाकलापलाई निरन्तरता दिने उनको भनाइ छ ।