सरकारले पेट्रोलियम पदार्थको मूल्य घटायो
Saturday, June 25th, 2022, 3:14 pm
Kalpristha
सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । सरकारले पेट्रोलमा २० रुपैयाँ, डिजेल र मट्टीलेतमा २९ घटाएको हो । अब पेट्रोलको मूल्य १ सय ७९, डिजेल र मट्टीलेटको मूल्य १ सय ६३ रुपैयाँ भएको छ । यो मूल्य शनिबार राती १२ बजेदेखि लागू हुनेछ ।
शनिबार पत्रकार सम्मेलन गर्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थको मूल्य घटाएको जानकारी दिएका हुन् ।
यसअघि पेट्रोलको मूल्य १ सय ९९ र डिजेलको मूल्य १ सय ९२ थियो
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले पनि कर कटौती गर्दै पेट्रोलियम पदार्थको मूल्य घटाउन सरकारलाई निर्देशन दिने निणर्य गरेको थियो।
यसअघि शुक्रबार बसेको समितिको छलफलले नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, अर्थ मन्त्रालय र आयल निगमलाई सरकारले लिँदै आएको कर ५० प्रतिशत घटाउन निर्देशन दिएको थियो ।
पेट्रोलियम पदार्थमा विभिन्न शीर्षकमा सरकारले लिँदै आएको आएको कर ५० प्रतिशत घटाउन प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले निर्देशन दिएको हो ।
समितिको असार ६ गते बसेको बैठकले पेट्रोलियम पदार्थको चरम मूल्य वृद्धिबाट सर्वसाधारणलाई पर्न गएको असर न्यूनीकरण गर्न उपायको खोजीको गर्न नेपाल सरकारलाई निर्देशन दिएको थियो । उक्त निर्देशनमा शुक्रबार संसदीय समिति अन्तर्गत गठन भएको बजार अनुगमन उपसमितिको बैठकले सभापति समेतको सहभागितामा आयल निगमका पदाधिकारीसँग छलफल गरेको थियो ।
त्यस्तै सत्ता गठबन्धनले पेट्रोलियम पदार्थको मूल्यमा कटौती गर्न सरकारलाई शनिबार निर्देशन दिएको थियो ।
हाल सरकारले विभिन्न ६ शीर्षकमा ६५ रूपैयाँ ६१ पैसा कर लिँदै आएको छ । जसमा, २५ रूपैयाँ २३ पैसा सवारी भन्सार तथा प्रज्ञापन पत्र शुल्क, चार रूपैयाँ सडक मर्मत कर, एक रूपैयाँ ५० पैसा प्रदूषण कर, १० रूपैयाँ पूर्वाधार कर, २२ रूपैयाँ ८९ पैसा मूल्य अभिवृद्धि कर, एक रूपैयाँ ९९ पैसा मूल्य स्थिरीकरण कोष शुल्क लिँदै आएको छ ।
हाल निगमले १ सय ३१ रूपैयाँ ९१ पैसामा भारतीय आयल कर्पोरेसनबाट पेट्रोल किनिरहेको छ । निगमले उपभोक्तालाई पेट्रोल प्रतिलिटर एक सय ९९ रूपैयाँमा बिक्री गरिरहेको छ । यसमा १३ रूपैयाँ ५८ पैसा घाटा भएको निगमको भनाइ छ ।