जानकीको बजेट ५९ करोड
Saturday, June 25th, 2022, 7:41 pm
Kalpristha
जानकी, ११ असार (कालपृष्ठ)– जानकी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९÷०८० का लागि ५९ करोड ५३ लाख ५९ हजार रुपैयाँ बजेट ल्याएको छ । गाउँपालिका कार्यालय मानपुरमा शुक्रबार आयोजित ११ औं सभामा उपाध्यक्ष रामप्यारी यादवले बजेट प्रस्तुत गरेकी हुन् ।
उपाध्यक्ष यादवले कूल बजेटमा गाउँपालिकाले आर्थिक विकासतर्फ ७५ लाख विनियोजन गरेको बताइन् । साथै आर्थिक विकासतर्फ कृषि क्षेत्रका लागि ३५ लाख, पशु क्षेत्रका लागि ३५ लाख र सहकारी क्षेत्रका लागि ५ लाख गरी ७५ लाख विनियोजन गरिएको उनले बताइन् ।
पालिकाले सामाजिक विकासतर्फ एक करोड ६५ लाख रुपैयाँ विनियोजन गरेको छ । जसमा शिक्षा क्षेत्रका लागि ९० लाख, महिला तथा बालबालिका क्षेत्रका लागि १५ लाख र स्वास्थ्य क्षेत्रमा ६० लाख रुपैयाँ रहेको छ ।
यसैगरी पूर्वाधार विकासतर्फ सबैभन्दा बढी २० करोड ९० लाख ५९ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ । गाउँपालिकास्तरीय योजनाका लागि १६ करोड ५५ लाख ५९ हजार, वडास्तरीय योजनातर्फ ४ करोड ३० लाख रुपैयाँ विनियोजना गरिएको हो ।
वन, वातावरण तथा विपत व्यवस्थापनतर्फ १० लाख विनियोजन गरिएको छ । जसमा सुशासन तथा संस्थागत क्षमता विकासतर्फ ९ करोड २५ लाख र वडास्तरीय चालू बजेट ६० लाख रहेको छ ।
न्यायिक तथा लक्षित कार्यक्रम अन्र्तगत ५०-५० लाख र कर्मचारी कल्याण कोषका लागि २० लाख गरी कूल १० करोड ८० लाख रुपैयाँ बजेट विनियोजना गरिएको छ ।