जयरानीले बनाइन् राष्ट्रिय कीर्तिमान
Saturday, June 25th, 2022, 7:46 pm
Kalpristha
त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले ४ सय मिटर हर्डल्समा राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । नेपाल एथलेटिक्स संघको आयोजनामा भईरहेको ४४ औं राष्ट्रिय एथलेटिक्स प्रतियोगिता अन्तर्गत शनिबार जयरानीले दशरथ रंगशालामा निर्धारित दूरी १ मिनेट ०७ दशमलब २ सेकेण्डमा पूरा गर्दै राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी हुन् ।
जयरानीले छैटौं राष्ट्रिय खेलकुदमा एपीएफकी सविता चौधरीले बनाएको १ मिनेट ०७.७ सेकेन्डको कीर्तिमान भंग गरेकी हुन् ।
आर्मीकै निर्मला थापाले १ मिनेट ०८ दशमलब ७ सेकेण्डमा पूरा गर्दै रजत जितिन् । एपीएफकी कल्पना श्रेष्ठले १ मिनेट ०९ दशमलब ७ सेकेण्डको समयसहित कास्य जितिन् ।
पहिलो दिन शुक्रबार जयरानीले १ सय मिटर हर्डल्समा १५.२० सेकेन्डको कीर्तिमान रचेकी थिइन् । यसअघि उक्त कीर्तिमान प्रमिला थारुको नाममा थियो । प्रमिलाको टाइमिङ १६.३८ सेकेन्ड थियो ।
शुक्रबारै आर्मीका जीवन थारुले पुरुष १ सय १० मिटर हर्डल्समा १४.९६ सेकेन्डको कीर्तिमान बनाएका थिए । उनले आफ्नै नाममा रहेको १५.६० सेकेन्डको कीर्तिमान सुधार गरेका थिए ।
४ सय मिटर पुरुषतर्फ आर्मीका राम प्रसाद थारुले ५५ दशमलब ९ सेकेण्डको समयसहित स्वर्ण जिते ।
आर्मीका जीवन थारु ५६ दशमलब ७ सेकेण्डसहित दोस्रो हुँदा मधेश प्रदेशका मुकेश थारु ६५ दशमलब १ सेकेण्डसहित तेस्रो भए ।
जयरानीले महिला लङजम्पमा पनि स्वर्ण हात पारिन् । जयरानीले ५ दशमलब १३ मिटर जम्प गरिन् । एपीएफकी शिला चौधरी ५ दशमलब ०३ मिटरसहित दोस्रो हुँदा पुलिसकी शिमा चौधरी ४ दशमलब ७८ मिटरसहित तेस्रो स्थानमा रहिन् ।