शंकर माविका प्रअ खाँले भ्रष्टाचार गरेको आरोप
Tuesday, June 28th, 2022, 8:22 pm
Kalpristha
खाँ विरुद्ध ३ लाख २ हजार १ सय ९७ रुपैयाँ बिगो कायम गरी अख्तियारले अदालतमा आरोप–पत्र दायर गरेको छ । जिल्ला शिक्षा कार्यालय बाँकेबाट २०६८ देखी २०७४ सम्म छात्रवृत्तिको लागि प्राप्त रकममा कम्प्युटर खरिद, भवन निर्माण, शौचालय निर्माण कार्य तथा विद्यालयको आन्तरिक स्रोत समेतको दुरुपयोग गरेको उनलाई आरोप लागेको छ ।
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १४ असार
बाँकेको शंकर माध्यमिक विद्यालयका प्रधानाध्यापक(प्रअ) मुहम्मद युनिस खाँलाई विद्यालयको रकममा भ्रष्टाचार गरेको आरोप लागेको छ ।
बाँके बैजनाथ गाउँपालिका वडा नम्बर ८ स्थित शंकर माध्यमिक विद्यालयका प्रअ खाँले सार्वजनिक सम्पत्तिमा हानिनोक्सानी गरी भ्रष्टाचार गरेको भन्दैं उनी विरुद्ध अख्तियारले आरोप–पत्र दायर गरेको छ ।
खाँ विरुद्ध ३ लाख २ हजार १ सय ९७ रुपैयाँ बिगो कायम गरी अख्तियारले अदालतमा आरोप–पत्र दायर गरेको छ । जिल्ला शिक्षा कार्यालय बाँकेबाट २०६८ देखी २०७४ सम्म छात्रवृत्तिको लागि प्राप्त रकममा कम्प्युटर खरिद, भवन निर्माण, शौचालय निर्माण कार्य तथा विद्यालयको आन्तरिक स्रोत समेतको दुरुपयोग गरेको उनलाई आरोप लागेको छ ।
खाँले शिक्षा नियमावली २०५९ को परिच्छेद २९ नियम १६५ मा विद्यालयले प्राप्त गरेको रकम जुन कामको लागि खर्च गर्नु पर्ने हो त्यसमा नगरेर रकम हिनामिना गरेको पुष्टि भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
प्रअ खाँले छात्रवृत्ति वितरण तर्फको रकम र कम्प्युटर तर्फको रकम गरी ३ लाख २ हजार १ सय ९७ रुपैयाँ हिनामिना गरेको भन्दैं अख्तियारले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १७ अनुसारको कसुर भएकोले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १७ मा उल्लेख भए अनुसार ऐनको दफा ३ को उपदफा(१) बमोजिम जरिवाना र दफा ३ को उपदफा १(घ) बमोजिम कैद सजाय पाउनु पर्ने आरोप–पत्रमा उल्लेख गरिएको छ ।
यसैगरी खाँबाट हुन गएको हानिनोक्सानी रकम निजबाट असुल उपर गर्न मंगलबार अख्तियारले विशेष अदालत काठमाडौंमा आरोपत्र दायर गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहयाक प्रवक्ता वेदप्रसाद भण्डारीले बताएका छन ।