वामदेवको अब नयाँ पार्टी
Tuesday, June 28th, 2022, 9:03 pm
Kalpristha
राष्ट्रियसभा सदस्य वामदेव गौतमले नेकपा राष्ट्रिय एकता अभियान नाम दिएर नयाँ राजनीतिक दलको घोषणा गरेको छन् । मंगलबार रिपोटर्स क्लबमा पत्रकार सम्मेलन गरेर गौतमले नयाँ राजनीतिक दलको घोषणा गरेका हुन् ।
उक्त घोषित नयाँ दलको संयोजक भने गौतम आफैँ हुन् ।सचिवालयमा संयोजक गौतम र सचिव डीबी कार्की रहेका छन् ।
सचिवालय सदस्यमा ओम शर्मा चालिसे, डिल्लीराज भट्टराई, दुर्गा भण्डारी, निकान्त पाण्डे, भगवती विष्ट र युवराज सफल परेका छन् ।
नयाँ दलमा केन्द्रीय कमिटी ७५ सदस्यीय हुनेछ भने स्थायी कमिटी १५ सदस्यीय हुने गौतमले जानकारी दिएका छन् । समन्वय समितिका रूपमा आठसदस्यीय केन्द्रीय सचिवालय गठन गरिएको छ ।
पत्रकार सम्मेलनमा पार्टी बहुपदीय प्रणालीमा जाने गौतमले बताएका छन् । जसमा पार्टीमा एक अध्यक्ष, प्रत्येक प्रदेशमा इन्चार्जको जिम्मेवारी बहन गर्नेगरी ७ उपाध्यक्ष, संगठनात्मक कामको मुख्य जिम्मेवारी पूरा गर्ने गरी एक महासचिव, उपमहासचिव, कोषाध्यक्ष र एक सचिव रहने व्यवस्था गरिएको छ ।
उनका अनुसार एकीकरणको भूमिका निर्वाह गर्दासम्म पार्टीका सम्पूर्ण ढाँचा समन्वय समितिका रूपमा रहनेछन् । हाल हरेक कमिटीका प्रमुख पदमा संयोजक र सचिवको मात्रै व्यवस्था गरिएको उनले बताए ।
पार्टीले अन्य पार्टीसँग एकताको सम्वादका लागि संयोजक गौतमकै संयोजकत्वमा सचिवालयका सदस्यहरू सम्मिलित वार्ता टोली छिट्टै बनाउने उल्लेख छ ।
सचिवालयले पार्टीको आन्तरिक कार्यक्रम अन्तर्गत विधानसम्मत रूपमा आवश्यक संख्यामा विभाग, आयोग र जनवर्गीय संगठन, सामुदायिक संगठन र पेसागत संगठन निर्माण गर्ने पनि उनले बताए ।