नेपालगन्ज–१९ को वडा भेला सम्पन्न
Tuesday, June 28th, 2022, 9:15 pm
Kalpristha
नेपालगन्ज उप–महानगरपालिकाको वडा नम्बर १९ को वडा भेला सम्पन्न भएको छ । आगामी आर्थिक वर्ष २०७९-०८० को लागि वार्षिक कार्य योजना तर्जुमासहित भेला सम्पन्न भएको हो ।
भेलामा विभिन्न राजनीतिक दलका अगुवा, शिक्षक, समाजसेवी, संघ–संस्थाका प्रतिनिधि र वडावासीको उपस्थित रहेको थियो ।
सो भेलामा विभिन्न वक्ताहरुले आ–आफ्नो क्षेत्रको समस्या एवं सुझाव राखेका थिए । विकास योजना माग गर्ने उद्देश्यले आयोजना गरिएको उक्त भेलामा वडाबासीहरुले सडक, विजुली वत्ती, शिक्षा, स्वास्थ्य, खानेपानीलगायतका योजना माग गरेका छन् ।
स्थानीयवासीले उठाएका विषयवस्तुलाई प्राथमिक्तामा राखेर कार्यान्वयनको बाटोमा लैजाने वडा अध्यक्ष परसुराम बर्माले बताए । उनले समृद्ध र विकसित वडाका लागि पूर्वाधार निर्माण पनि महत्वपूर्ण भएको बताए ।
सामुदायिक विद्यालय र स्वास्थ्य संस्थाहरुको स्तरोन्नति, मठमन्दिर लगायत सार्वजनिक जग्गाको संरक्षण, सीप विकास कार्यक्रम सञ्चालन, कृषिको लागि प्रोत्साहित गर्ने र आत्मनिर्भर गराउने कार्यक्रमलगायत योजनाका साथ वडा अघि बढ्ने बर्माले बताए ।
भेलामा प्रमुख अतिथि भूपु प्रधान पञ्च बलबहादुर वलीको आतिथ्यतामा सम्पन्न भएको थियो ।