डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा निःशुल्क एम्बुलेन्स सेवा सुरु
Wednesday, June 29th, 2022, 3:19 pm
Kalpristha
विष्णुप्रसाद देवकोटा
डोल्पा, १५ असार
त्रिपुरासुन्दरी नगरपालिकाले पहिलो पटक आफ्नै एम्बुलेन्स सेवा संचालनमा ल्याएको छ । नगरले १६ लाखको लागतमा आर्थिक वर्ष २०७८–०७९ को नगर वजेटबाट एम्बुलेन्स खरिद गरेर संचालनमा ल्याएको हो ।
एम्बुलेन्स सेवाले त्रिपुरासुन्दरी नगरपालिका क्षेत्रका विरामीहरुलाई अस्पतालमा लैजानको लागि निशुल्क सेवा प्रवाह गरिने नगरले जनाएको छ ।
त्रिपुरासुन्दरी नगरपालिकाले संचालनमा ल्याएको निशुल्क एम्बुलेन्स सेवाको बुधवार नगरप्रमुख जनचन्द्र रोकाया जिल्ला समन्वय प्रमुख श्यामबहादुर रोकाया जिल्ला अदालतका न्यायधिश केशवराज चपाई र प्रमुख जिल्ला अधिकारी वेदनिधी अधिकारीले संयुक्त रुपमा पुजाआजा गरेर औपचारिक रुपमा संचालनमा ल्याउनु भएको हो ।
त्रिपुरासुन्दरी नगरपालिका र सदरमुकाम दुनै जोड्ने त्रिपुरासुन्दरी नगरपालिकाको ठूलिभेरीमा नवनिर्मित बेलिब्रिज पुलमा एम्बुलेन्स गुडाएर एम्बुलेन्स सेवा संचालनमा ल्याएको नगरपालिकाका प्रशासकीय अधिकृत लालप्रसाद पोखरेलले जानकारी दिनु भयो ।
सडकको पहुँच पुगेको तर यातायातको अभावमा समयमै अस्पतालमा पुग्ननसकेर मृत्युवरण गर्नु पर्ने बाध्यताबाट सर्वसाधारणलाई उन्मुक्ति दिन निशुल्क एम्बुलेन्स सेवा संचालनमा ल्याइएको नगरप्रमुख जनचन्द्र रोकायाले बताउनु भयो ।
नगर प्रमुख रोकायाका अनुसार त्रिपुरासुन्दरी नगरपालिकाका ११ वटै वडाका जनतालाई मात्र नभएर सडक पुगेको तर एम्बुलेन्सको सुविधा नभएकाअन्तर पालिकाका विरामीहरुलाई समेत निशुल्क सेवा प्रवाह गरिने छ ।
त्रिपुरासुन्दरी नगरपालिकाको कोटवगरस्थित ठूलीभेरी नदिमाथि भर्खरै निर्माण सम्पन्न भएको बेलिब्रिज पुल पनि नगरले एम्बुलेन्स सेवा संचालनमा ल्याएसंगै औपचारिकरुपमा संचालनमा आएको छ ।
त्रिपुरासुन्दरी नगरपालिकाको निशुल्क एम्बुलेन्स सेवा संचालनको औपचारिक कार्यत्रक्रममा जिल्लास्थित सुरक्षा प्रमुख विभिन्न राजनीतिकदलका प्रमुख तथा प्रतिनिधि नागरिक समाज संचारकर्मि र सर्वसाधारणको बाग्लो उपस्थिती रहेको थियो ।