बाँकेमा मनाईयो धान दिवस
Wednesday, June 29th, 2022, 4:32 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १५ असार
असार १५ अर्थात राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव बाँकेमा पनि विविध कार्यक्रमका साथ मनाइएको छ ।
बाँकेका ८ स्थानीय तहमा विभिन्न संघसंस्थाको अगुवाईमा धान रोपाई महोत्सव मनाइएको छ ।
बाँकेको राप्तीसोनारी गाउँपालिकामा कृषि ज्ञान केन्द्र बाँके, वाली संरक्षण प्रयोगशाला खजुरा, माटो तथा मल परिक्षण प्रयोगशाला खजुराले रोपाई महोत्सव मनाएका थिए । त्यसमा सहकार्य साकार कृषि सहकारी संस्था लिमिटेडले गरेको थियो ।
बाँकेमा यसपटक मनसुन ढिला आइपुगेका कारण ढिला गरी रोपाई सुरु भएको थियो ।
पानी नपरेका कारण असारको मध्यतिरबाट रोपाईको गति बढेको छ । मंगलबार राती परेको पानीले रोपाईलाई सहज बनाएको छ ।
असार १५ मा पानी परेपछि रोपाई गर्ने क्रम बढदै गएको कृषि ज्ञान केन्द्रले जनाएको छ । पछिल्लो समय आधुनिक प्रविधिको प्रयोग गर्दै धान रोपाई गर्ने क्रम बढ्दो रहेको छ । राप्तीसोनारीमा पनि बुधबार धान रोपाईमा प्रविधिको प्रयोग गरेर धान रोपाई गरिएको थियो ।
नेपालमा धान उत्पादनका हिसाबले बाँके अग्रणी जिल्लामा पर्छ । कृषि ज्ञान केन्द्र बाँकेका अनुसार करिब ३६ हजार ५ सय हेक्टर जमिनमा धान रोपाई गरिन्छ । धान रोपाई ढिला गरी सुरु भएपनि असार सम्म यसको गति बढदैं जाने बताउँछन कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकाल ।
उनले भने,‘बाँकेमा गत वर्षको तुलनामा धान रोपाईको काम केहि ढिला गरी सुरु भएको छ । भारतको बंगालबाट आउने मनसुनको प्रवेश तराईका जिल्लामा ढिला गरी भएको छ । यसले पनि धान रोपाईमा ढिला भएको हो । तर त्यसले असर गर्दैन ।
असार महिनाभरलाई धान रोपाईका हिसाबले उपयुक्त समय मानिन्छ । असार सम्म धेरै क्षेत्रफलमा धान रोपाई हुनेछ ।’ अहिले देशभर धान रोपाई कार्य सुरु भैसकेको छ । तर किसानलाई सहज रुपमा मल पाउन भने समस्या भैरहेको छ ।