खजुरामा पन्चे बाजासहित रोपाइँ गरियो
Wednesday, June 29th, 2022, 4:51 pm
Kalpristha
गोपाल बहादुर बुढाक्षेत्री
बाँकेको खजुरा गाउँपालिकामा बुधबार नौमती पन्चे बाजा बजाएर धुमधामका साथ १९औं रोपाइँ महोत्सव मनाइएको छ । वडा नम्बर ३, सि गाउँमा किसानहरुको खेतबारीमा पन्चे बाजा बजाएर स्थानीय र जनप्रतिनिधिको उपस्थितिमा रोपाइँ दिवस मनाइएको हो ।
खजुरा गाउँपालिका कृषि शाखाले आयोजना गरेको कार्यक्रममा खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विकले धान रोपेर उद्घाटन गरेका हुन् । रोपाइँमा गाउँपालिकाका उपाध्यक्ष मञ्जु मल्ल, प्रमुख प्रशासकिय अधिकृत बम बहादुर केसी, पालिकाका विभिन्न वडाअध्यक्ष तथा किसानहरुको सहभागी रहेको थियो ।
‘धानबालीमा जैविकताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’ भन्ने नाराका साथ आयोजना गरिएको राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सवमा महिला पुरुषहरुको छुट्टाछुटै हिले दौड प्रतियोगिता समेत गराइएको कृषि शाखा प्रमुख पुनम पोखरेलले जानकारी दिइन् ।
धान दिवस मनाइरहेका किसानले धानमा उत्पादन राम्रो लिन मल चाहिने तर किसानले मल नपाउँदा दुखि भएको गुनासो गरेका थिए ।
त्यसैगरी खजुरामै अखिल नेपाल किसान महासघंले पनि खजुरा गउँपालिका वडा नम्बर ३, मनकामनापुरमा धान दिवस मनाएको छ । धान रोपेर किसानहरुले दहि चिउरा खायर रोपाई दिवस मनाए ।

.