वास्तविक किसानलाई मल ल्याउन दिइने
Thursday, June 30th, 2022, 6:10 pm
Kalpristha
जिल्ला प्रशासन कार्यालय बाँकेले वास्तविक किसानलाई भारतबाट मल ल्याउन दिने भएको छ । प्रशासनले नाकामा खटिएका सुरक्षाकर्मीलाई किसानको पहिचान गरी मल ल्याउन दिन निर्देशन दिएको हो ।
जिल्ला प्रशासन बाँकेका प्रमुख सूर्यबहादुर खत्रीले भारतबाट मल ल्याउने किसानलाई बाधा नपुर्याउन नाकामा खटिएका सुरक्षाकर्मीलाई निर्देशन दिइएको बताए । उनले खेतिपातीका लागि ल्याउने किसानको पहिचान गरी मल ल्याउने किसानलाई दुख नदिन नाकामा खटिएका सुरक्षाकर्मीलाई सूचना पठाएको बताए ।
उनले रासायनिक मल नहुँदा कृषकले धान रोप्न नसकेको गुनासो आएपछि किसानलाई भारतबाट मल ल्याउन केहि खुकुलो गरिएको बताए । भारतबाट मल ल्याउन प्रतिबन्ध रहे पनि व्यवहारिकता हेरेर यस्तो निणर्य गर्न परेको उनको भनाइ छ ।
बाँकेका किसानले नेपालगन्ज, नरैनापुर, डुडुवाको होलिया, हिरमिनिया, खजुराको राधापुर र जानकी गाउँपालिकाको साईगाउँ लगायत नाकाबाट रासायनिक मल ल्याउने गरेका छन् । यी नाकाबाट मल ल्याउँदा सुरक्षाकर्मीले दुख दिने गरेको गुनासो आएको प्रमुख खत्रीले बताए ।
यसअघि नेकपा एमाले र राप्रपाले किसानलाई मलको व्यवस्था गराउन दबाब सृजना गरेका थिए । नेकपा एमालेले असार १२ गते र राप्रपाले असार १३ गते जिल्ला प्रशासन कार्यालय अगाडि दबाबपूणर् धर्ना दिएका थिए ।